© 2026
काठमान्डौँ ।
मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा आइपुग्दा केही कमजोर हुन सक्ने अनुमान गरेको छ ।
मंगलबार बिहान आगामी पाँच दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै महाशाखाले चक्रवातको प्रभावका कारण बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा र हिमपात हुन सक्ने जनाएको हो ।
महाशाखाकी मौसमविद् विभुति पोखरेलका अनुसार मंगलबार र बुधबार नेपालको मौसम मुख्यतया सफा रहनेछ ।
‘अर्णव’ चक्रवात अहिले बंगालको खाडी क्षेत्रमा शक्तिशाली अवस्थामा रहेको उनले बताइन् । उनका अनुसार बुधबारदेखि चक्रवात भारतको विशाखापट्टनम हुँदै जमिनमा प्रवेश गर्ने अनुमान छ ।
त्यसपछि चक्रवात क्रमशः उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै नेपालतर्फ प्रवेश गर्ने सम्भावना रहेको पोखरेलले बताइन् ।
‘नेपाल प्रवेश गर्दा चक्रवात केही कमजोर हुने अनुमान छ । तर, यसको बाटो नेपालतर्फ देखिएकाले सतर्कता अपनाउन आवश्यक छ,’ उनले भनिन्, ‘विशेषगरी बिहीबार, शुक्रबार र शनिबार बढी सतर्क रहनुपर्छ ।’
चक्रवातको प्रभाव तराईको तुलनामा उच्च पहाडी तथा हिमाली क्षेत्रमा बढी देखिन सक्ने मौसमविद्ले बताएका छन् ।
यसका कारण नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा भने भारी हिमपातको सम्भावना रहेकाले पदयात्रामा रहेका पर्यटक तथा अन्य यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
धान भित्र्याउने समय भएकाले वर्षाले किसानलाई समेत असर गर्न सक्ने मौसमविद्हरूले बताएका छन् । मध्यम खालको वर्षाले पनि काटेर खेतमा राखिएको धानबालीमा क्षति पुग्न सक्ने उनीहरूको भनाइ छ ।
त्यसैले किसानलाई बिहीबारअघि नै काटिसकेको धान सुरक्षित स्थानमा भित्र्याउन र सम्भव भएसम्म केही दिन धान काट्ने काम स्थगित गर्न आग्रह गरिएको छ ।
हेर्नुहोस् महाशाखाले जारी गरेको ५ दिनको मौसम पूर्वानुमान