© २०२३
बुटवल, १ फागुन ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती (वसन्त) ले प्रदेश सरकारको सरकारी सुविधा लिएर प्रदेश सभासंग असम्बन्धित कार्यक्रममा धाउने गरेका छन् । उनले सरकारी सुविधाको रकम खर्चेर पार्टीका कार्यकर्ता, आफन्त र ब्यापारीलाई भेट्न झण्डावाला गाडी, सुरक्षा गार्ड र सचिवालयका कर्मचारीलाई समेत लिएर हिंड्ने गरेका छन् ।
गत माघ ३ गते लुम्बिनी प्रदेशको सभामुख चयन भएका घर्तीले बधाई र सम्मान थाप्न लुम्बिनी प्रदेशका विभिन्न जिल्ला धाईसकेका छन् । नियमतः प्रदेश सभासंग असम्बन्धित कार्यक्रममा सरकारी सुविधासहित उनी हिड्न पाउँदैनन् तर उनी प्रदेश सभासंग असम्बन्धित सानातिना कार्यक्रममा मात्र होइन्, सामान्य ब्यापारीलाई भेट्न समेत सरकारी गाडी चढेर उनीहरुका घर पुग्ने गरेका छन् ।
लुुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले भने, ‘समामुख ज्यू प्रदेश सभासंग सम्बन्धित कार्यक्रममा मात्र सरकारी सुविधासहित हिड्न पाउनुहुुन्छ । अन्य कार्यक्रमबारे हामीलाई थाहा हुँदैन ।’
तर सभामुख घर्तीे प्रदेशसभासंग असम्बन्धित कार्यक्रमका लागि दाङ, रुपन्देही, पाल्पा र नवलपरासीका विभिन्न ठाउँ पुगिसकेका छन् । सानातिना कर्यक्रमको अवसर पारेर उनले विभिन्न पर्यटकीय ठाउँको भ्रमण गर्ने गरेका छन् । सरकारी झण्डावाला गाडीको दुरुपयोग गर्दै एकैसाताको अवधिमा यी ठाउँमा पुगेका छन् ।
सभामुख घर्तीको सचिवालयले उनका निजी भेटघाट र भ्रमणका तस्विरहरु समेत समाजिक संजालमा राख्ने गरेको छ । आफन्त, पार्टी कार्यकर्ता र ब्यापारीलाई भेट्न कुँदिरहेका घर्तीले गत माघ २३ गते पाल्पाको रैनादेवि छहरा गाउँपालिकाको मुझुङमा भएको राष्ट्रपति रनिङशील भलिवल प्रतियोगितामा गएका बेला गाउँपालिकाको सम्मान थाप्न उनी छहरा पनि पुगे । त्यसैदिन उनी भुवनपोखरीका कर्यकर्ता भेट्न पुगे र रैनादेवि मन्दिरको भ्रमण पनि गरे । रैनादेवि छहराका ब्यापारीलाई भेट्न झण्डावाला गाडीसहित उनीहरुका पसलमै पुगेका घर्ती सोही दिन पाल्पाको तानसेन नगरपालिकाका प्रमुख र उपप्रमुखलाई भेट्न नगरपालिकाको कार्यालयमा पुगे । नियमतः शनिबारको दिन सरकारी सुविधा कसैले पनि प्रयोग गर्न पाउँदैनन् । शनिबारको दिन पनि घर्तीले सरकारी सुविधाको चरम दुरुपयोग गरेका छन् । माघ २८ गते शनिबार आफ्ना पार्टी कार्यकर्ता भेट्न तिनाउ गाउँपालिका पुगे । बधाई र सम्मान थाप्न उनी दौडधुपमा छन् ।
गत माघ २४ गते दाङको तुल्सिपुरस्थित एक विद्यालयको बार्षिकोत्सवमा सहभागी भएका सभामुख घर्ती कार्यक्रम सकेर दंगिशरण गाउँपालिकास्थित सखौरामा रहेको थारु संग्रहालय घुम्न गए । माघ २६ गते पाल्पाको तिनाउ गाउँपालिकास्थित सिद्धबाबा मन्दिर विकास समितिको सम्मान थाप्न पुगेका उनी पाल्पाको रिब्दीकोटमा खेलकुदको कार्यक्रममा सहभागी भएर सोही दिन रुपन्देहीको देवदहमा अयोजित ब्यापार मेला उद्घाटन गर्न पुगे । सरकारी सेवा सुविधा उपयोग गरेर निजी भेटघाटका कार्यक्रममा गएकोप्रति केही प्रदेश सांसदले उनको आलोचना गर्ने गरेका छन् । तर सभामुख घर्तीले भने आफू नियमविपरित कुनै कार्यक्रममा नगएको बताए । “पाल्पाको तिनाउ गाउँपालिकामा रेडक्रसको कार्यक्रममा गएको हुँ, रैनादेवी छहरामा गएको बेला व्यापारीलाई घेट्न नभै कपडा किन्नका लागि पसलमा गएको हुँ, सम्मान थाप्ने उद्देश्यले र राजनीतिक भेटघाट गर्ने उद्देश्यले कतै गएको छैन”–उनले बुटवल टुडेसँग भने ।सभामुख घर्ती पाल्पा क्षेत्र नं. २ (२) मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रदेश सांसदमा बिजयी भएर सभामुख बनेका हुन् ।
लुम्बिनी प्रदेश सभाका प्रवक्ता तथा सूचना अधिकारी सम्झना सुवेदीका अनुसार प्रदेश सभाका पदाधिकारी तथा सदस्यले पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ का आधारमा पाउने गर्छन् । सेवा सुविधा बढाउन लुम्बिनी प्रदेशले पटक पटक यो ऐन संशोधन गरेको छ ।
सभामुखले पारिश्रमिक बापत मासिक ५३ हजार रुपैयाँ पाउँछन् । बैठक भत्ता प्रत्येक दिनको १ हजार, सरकारी इन्धन प्रतिमहिना २०० लिटर, सभामुखले प्रयोग गर्ने गाडीका लागि मोबिल ३ महिनामा १० लिटर, बिजुली पानीको शुल्क बिल अनुसार पाउँछन् ।
सभामुखका लागि सरकारी निवास र गाडीको व्यवस्था हुन्छ । प्रदेश सभासंग सम्बन्धित कामले हिंडेमा भ्रमण भत्ता दैनिक २ हजार ५०० र वैदेशिक भ्रमणमा गए प्रतिदिन २२५ अमेरिकी डलर पाउने कानुनी ब्यवस्था छ ।