Butwal Today

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान भोलिदेखि सुरु हुँदै

६ कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान शनिबारदेखि सञ्चालन गर्ने भएको छ। पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको हो। अभियानको औपचारिक उद्घाटन शनिबार दिउँसो २ः३० बजे काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष पत्रकार सम्मेलनमार्फत गरिने पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्।

उद्घाटन कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि असोज २३ गते बसेको पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। अभियानसँगै आगामी स्थानीय तहको निर्वाचनअघि नै पार्टीका वडा तथा पालिका अधिवेशन सम्पन्न गर्ने निर्णयसमेत गरिएको छ।

संगठन सुदृढीकरणदेखि जनजीविकाका मुद्दासम्म

‘राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र संगठन सुदृढीकरण’ लाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्न लागिएको पार्टीले जनाएको छ। अभियानका क्रममा पार्टीका विभिन्न समिति, जनवर्गीय संगठन तथा मोर्चाहरूको समायोजनका बाँकी काम पूरा गरिनेछ। साथै, संगठित सदस्यता नवीकरण तथा विस्तारलाई तीव्रता दिँदै आन्तरिक बैठक, भेला, प्रशिक्षण र अन्य संगठनात्मक कार्यक्रम सञ्चालन गरिनेछ।

पार्टीले जनतासँगको सम्बन्ध सुदृढ बनाउन रचनात्मक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने, नागरिकका माग र दैनिक जनजीविकासँग सम्बन्धित समस्या संकलन गर्ने तथा समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने योजना बनाएको छ। त्यसैगरी श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गर्नुका साथै विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका काममा सहयोग गर्ने अभियानको कार्ययोजनामा उल्लेख छ।

महँगी, भ्रष्टाचार र बेरोजगारीविरुद्ध आवाज उठाउने

नेकपाले महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा सुशासनसँग सम्बन्धित विषयलाई समेत अभियानमा उठाउने जनाएको छ। राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार र जनजीविकाका सवालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। नागरिकका समस्या तथा मागलाई सम्बन्धित निकायसम्म पुर्‍याउन केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र तथा ज्ञापनपत्र पेस गर्ने कार्यक्रमसमेत रहेको छ। दुई महिनासम्म सञ्चालन हुने अभियानमार्फत पार्टी समायोजन, सदस्यता नवीकरण, संगठन विस्तार र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिँदै नेकपा स्थानीय तह निर्वाचनअघि संगठनात्मक तयारीमा जुट्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?