© 2026
गुल्मी ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक मात्र नभई समाजमा विद्यमान विकृति र कुरीतिविरुद्ध सङ्कल्प गर्ने अवसर समेत भएको बताएका छन् ।
करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको गुल्मीको मालिका गाउँपालिका–८ स्थित ऐतिहासिक मर्भुङकोट मन्दिरको आइतबार उद्घाटन गर्दै कार्कीले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणसँगै समाजमा सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको उल्लेख समेत गरेका थिए ।
प्रहरी महानिरीक्षक कार्कीले देवीको पूजा गर्ने तर घरपरिवार र समाजमा महिलामाथि अन्याय तथा शोषण सहने प्रवृत्ति विरोधाभासपूर्ण भएको भन्दै समाजबाट घरेलु हिंसा, बोक्सीको आरोप, छाउपडी, दाइजो र बालविवाह जस्ता कुप्रथाको अन्त्य गरी महिलाको सम्मान सुनिश्चित गर्न सके मात्र विजया दशमीको सन्देश सार्थक हुने बताएका थिए ।
उनले मर्भुङकोट जस्ता ऐतिहासिक धार्मिक स्थलले सत्य, इमानदारी, अनुशासन र अन्यायविरुद्ध उभिने प्रेरणा दिने उल्लेख गर्दै यस्ता सम्पदाको संरक्षणले शान्तिपूर्ण तथा अपराधरहित समाज निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । धार्मिक पर्यटनको सम्भावना बोकेको मर्भुङकोट क्षेत्रको विकासका लागि सडक पहुँच, खानेपानी, शौचालय र विश्रामस्थल लगायतका आधारभूत पूर्वाधार निर्माणमा स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा सरोकारवाला निकायबिच समन्वय आवश्यक रहेको उनले बताए ।
मर्भुङकोट मन्दिर साबिकका मर्भुङ, सिर्सेनी, अर्खाबाङ र हवाङ्दी गाउँको साझा ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापना भएको मानिन्छ । स्थानीय जनसहभागिताको सहयोगमा उक्त मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमालय केसीले बताएका छन् ।
मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार मन्दिर पुनर्निर्माणमा कुल ६० लाख रुपैयाँ खर्च भएको छ । मन्दिर निर्माणका लागि ३२४ जना दाताबाट न्यूनतम १०० रुपैयाँदेखि अधिकतम तीन लाख ३१ हजार १११ रुपैयाँसम्म सहयोग सङ्कलन गरिएको थियो । कार्यक्रममा मन्दिर निर्माणमा उल्लेखनीय योगदान पु¥याउने चन्दादाता तथा निर्माण समितिका पदाधिकारीलाई सम्मान समेत गरिएको थियो ।