© २०२३
रुपन्देही ।
लुम्बिनी प्रदेशमा मन्त्री छनौटको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा तीव्र असन्तुष्टि देखिएको छ । एकपक्षीय रूपमा प्रदेश सरकारमा मन्त्री पठाइएको भन्दै असन्तुष्टि बढेको हो ।
राप्रपाबाट कपिलवस्तुका जानकीप्रसाद यादवलाई मन्त्री बनाइएपछि रुपन्देहीका राप्रपा नेताहरूले सार्वजनिकरुपमै असन्तुष्टि जाहेर गरेका हुन् । रुपन्देही १ (१) का आशिषकुमार चौधरी पार्टी संसदीय दलका नेता हुन् । तर उनी नभई कपिलवस्तुका यादव मन्त्री भएपछि राप्रपा रुपन्देहीका कार्यवाहक अध्यक्ष अजय कुमार गुप्ताले असन्तुष्टि जाहेर गरेका छन् ।
उनले संसदीय दलको नेता नै सरकारमा जाने अभ्यास विपरीत लुम्बिनी प्रदेश सरकारमा पार्टीबाट मन्त्री छनोट हुँदा किन अर्कै व्यक्तिलाई पठाइएको भनेर असन्तुष्टि जनाएका हुन् । गुप्ताले सामाजिक सञ्जालमा लेखेर तीव्र असन्तुष्टि जनाएका छन् ।
राप्रपाले लुम्बिनी प्रदेशभर प्राप्त गरेको मतको करिब २७ प्रतिशत मत रुपन्देहीबाट मात्रै पाएको, बहालवाला गृहमन्त्री पराजित गरी पार्टीको साख जोगाई जिल्लालाई महत्त्वपूर्ण स्थानमा राखेको, जिल्लालाई केन्द्र एवं प्रदेश दुवै सरकारको मन्त्रीमण्डलमा सहभागिता नहुँदा रुपन्देहीवासीलाई दुखी तुल्याएको गुप्ताले तर्क गरेका छन् ।
बहुसङ्ख्यक नेता कार्यकर्ताको भावना र जनमतको कदर गरिनुपर्दथ्यो भन्दै गुप्ताले रुपन्देहीमाथि अन्याय भएको व्यक्तिगतरुपमा महसुस गरेको उल्लेख गरेका छन् ।
गुप्तासहित नेता कार्यकर्ताको असन्तुष्टिबारे राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले मन्त्री छनोटमा प्रदेशले समन्वयकारी भूमिका मात्र निभाएको टिप्पणी गरेका छन् । सहमति र सम्झौताको कार्यान्वयन, बहुमत सांसदहरूको निर्णय अनुसार कपिलवस्तुका जानकीप्रसाद यादव मन्त्री नियुक्त भएको भन्दै उदयले केन्द्रीय नेतृत्वले गरेको निर्णयलाई स्वीकार गर्नु सबैको कर्तव्य हुने स्मरण गराएका छन् ।