Butwal Today

रुपन्देहीमा कीर्ते रेकर्ड राखेर १३ जनालाई सेटिङमा लाइसेन्स, खारेज गर्न अख्तियारको निर्देशन

२८ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

बुटवल । यातायात व्यवस्था कार्यालय, रुपन्देहीमा परीक्षाको नतिजा नै फेरबदल गरी गैरकानुनी रूपमा सवारी लाइसेन्स वितरण गरिएको खुलासा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको विस्तृत अनुसन्धानमा लिखित परीक्षा तथा ट्रायलको नतिजामा चरम किर्ते र फर्जी अभिलेख खडा गरी लाइसेन्स जारी गरिएको पुष्टि भएको हो।

आयोगका अनुसार २०७८ साल असार ११ गते सञ्चालन गरिएको लिखित परीक्षा र असार १४ गते लिइएको ट्रायल परीक्षाको नतिजामा अनधिकृत रूपमा केरमेट, थपघट र सच्याएर झुट्टा विवरण तयार पारिएको थियो । यसरी नियमविपरीत परीक्षा उत्तीर्ण गराई १३ जनालाई ‘जे १’  र  ‘जे २’ वर्गको सवारी चालक अनुमतिपत्र जारी गरिएको भेटिएको छ ।

गैरकानुनी रूपमा लाइसेन्स पाउनेहरूमा इन्द्र जिसी, सञ्जु खाँड, दीपेन्द्र कुँवर, खिमबहादुर ढेंगा, डिलबहादुर आचार्य, यदु खड्का, विकास घिमिरे, सूर्यबहादुर थापा, रुद्रबहादुर गाहा मगर, शम्भु केसी, लेखबहादुर रेश्मी, ओमप्रकाश चौधरी र आसिफ खवास छन् ।

अख्तियारले यसरी जारी गरिएका फर्जी लाइसेन्सहरू तत्काल रद्द गर्न र संलग्न कर्मचारी तथा व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।

आयोगले लुम्बिनीको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात व्यवस्था मन्त्रालयलाई लाइसेन्स नम्बर र वर्गसहितको विवरण संलग्न गरी कारबाहीको ताकेता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?