Butwal Today

भैरहवामा डाँडिया र भगवती रात्रि जागरण हुँदै, भारतीय कलाकारको प्रस्तुति रहने

२८ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

भैरहवा। रुपन्देहीको भैरहवामा नेपाली तथा भारतीय सांस्कृतिक परम्पराको संगमका रुपमा डाँडिया कार्यक्रम र भगवती रात्रि जागरण आयोजना हुने भएको छ । आगामी कार्तिक २ गते सोमबार डाँडिया कार्यक्रम र ३ गते मंगलबार साँझ ७ बजेदेखि राति १ बजेसम्म भगवती रात्रि जागरण सञ्चालन गरिने आयोजकले जनाएका छन् । कार्यक्रममा भारतका विभिन्न कलाकारहरूको समेत प्रस्तुति रहनेछ ।

बुधबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै भैरहवाको पुरानो सांस्कृतिक इतिहाससँग जोडिएको उक्त कार्यक्रम विगत २५ वर्षदेखि आयोजना हुँदै आएको आयोजकले बताए । मिलनचोक र गल्लामण्डी क्षेत्रबाट सुरु भएको यस परम्पराले अहिले रुपन्देहीका विभिन्न स्थानमा सांस्कृतिक उत्सवका रुपमा निरन्तरता पाउँदै आएको श्री श्री सार्वजनिक दुर्गा पूजा समितिका सचिव बिशाल श्रीवास्तवले बताए ।

कार्यक्रमको मुख्य उद्देश्य नेपाली समाजको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै माता दुर्गाप्रतिको श्रद्धा र भक्तिभाव अभिव्यक्त गर्नु रहेको समितिका अध्यक्ष रवि जयसवालले जानकारी दिए । धार्मिक आस्था र सांस्कृतिक उत्सवलाई एकै ठाउँमा जोड्दै समाजमा आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने लक्ष्य पनि राखिएको उनले बताए ।

कार्यक्रम संयोजक दिपेश गुप्ताका अनुसार डाँडिया र भगवती रात्रि जागरणले महिला तथा युवाहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ । साथै, विभिन्न समुदायका व्यक्तिलाई एकै ठाउँमा भेला गराएर आपसी सम्बन्ध बलियो बनाउन र मनोरञ्जनमार्फत सांस्कृतिक एकता कायम गर्न कार्यक्रमले योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

आयोजकले भैरहवाका सम्पूर्ण नगरवासी तथा तराई क्षेत्रका सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई सांस्कृतिक उत्सवको अवलोकन गर्न, धार्मिक आस्थामा सहभागी हुन र परम्पराको संरक्षणमा हातेमालो गर्न आग्रह गरेका छन् ।

२५ वर्षदेखि निरन्तरता पाउँदै आएको डाँडिया र भगवती रात्रि जागरणले धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक सद्भावलाई जोड्ने साझा मञ्चका रूपमा आफ्नो पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?