Butwal Today

बिसौँ एसियन गेम्समा पदक विजेता खेलाडीलाई नगद पुरस्कार उपलब्ध

२८ आश्विन २०८३, बुधबार
अ
अ+
अ-
काठमाडौँ ।
सरकारले २०औँ एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ ।
खेलकुद विकास नियमावलीअनुसार नेपाललाई पदक जिताउन सफल करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको छ ।
यसअघि असोज २३ गतेको मन्त्रिपरिषद्ले पदक विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो । जसअनुसार तेन्जिङलाइ रु छ लाख ५० हजार, प्रशिक्षक कुशल श्रेष्ठलाई रु एक लाख ३० हजार र व्यवस्थापक युवराज लामालाई पुरस्कारस्वरुप रु ६५ हजार रकम उपलब्ध गराइएको छ ।
त्यस्तै, कबड्डी टोलीका खेलाडीले जनही रु एक लाख ९५ हजार, मुख्य प्रशिक्षक पार्वती राईले रु एक लाख ३० हजार, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले रु ६५ हजार प्राप्त गर्नुभएको छ ।
करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
“सरकारले निर्धारित र निर्णय गरेको २०औँ एसियन गेम्सको पुरस्कार रकम डिपोजिट भएको जानकारी गराउन चाहान्छु । द्रुत गतिमा काम भएकामा धन्यवाद छ, नेपाल सरकार”, श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।
जापानको नायोगामा भएको २०औँ एसियन गेम्समा नेपालबाट करातेका तेञ्जिङ र महिला कबड्डी टोलीले कास्यपदक जित्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?