© 2026
काठमान्डौँ ।
जल तथा मौसम विज्ञान विभागले देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।
विभागकी मौसमविद् निशा निरौलाका अनुसार बुधबार देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पछिल्लो २४ घण्टामा देशका दुई स्थानमा मात्रै सामान्य वर्षा मापन भएको छ । सिन्धुपाल्चोकको नोस्याम्पाटी मौसम मापन केन्द्रमा १.८ मिलिमिटर र चन्द्रगढी मौसम मापन केन्द्रमा ०.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । अन्य स्थानमा भने वर्षा मापन भएको छैन ।
विभागका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । तीबाहेक अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
यस्तै, रातिको समयमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसमविद् निरौलाले बताएकी छन् । अन्य स्थानमा भने मौसम सफा रहने र वर्षाको सम्भावना न्यून रहेको विभागले जनाएको छ ।
आगामी २४ घण्टाका लागि विभागले चेतावनी नक्सामा हरियो रङ प्रयोग गरेको छ । देशभर कुनै विशेष मौसमी चेतावनी जारी नगरिएको निरौलाले स्पष्ट पारेकी छन् ।
उनले मौसमसम्बन्धी अपुष्ट जानकारीका आधारमा भ्रममा नपर्न आग्रह गर्दै अद्यावधिक सूचनाका लागि विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल नियमित रूपमा हेर्न सुझाव दिएकी छन् ।