© 2026
सल्यान ।
विद्यालयको सिकाइलाई कक्षाकोठामा सीमित नराखी विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र व्यावहारिक सीप विकासमा जोड दिइएको छ । सल्यानका तीन स्थानीय तहका नौ विद्यालयमा सञ्चालित शिक्षा सुधारसम्बन्धी गतिविधिले विद्यार्थीको सिकाइ र व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको अनुभव सहभागी विद्यार्थीले सुनाएका छन् ।
सबैका लागि शिक्षा सुनिश्चित गर्न नागरिक समाजको भूमिका ९एक्सेस० परियोजना अन्तर्गत दलित विकास समाज, सल्यानले सिद्ध कुमाख गाउँपालिका, शारदा नगरपालिका र त्रिवेणी गाउँपालिकामा सञ्चालन गरेका गतिविधिको उपलब्धि तथा सिकाइ आदानप्रदान कार्यक्रममा विद्यार्थीले यस्तो अनुभव सुनाएका हुन् ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले परियोजनाका गतिविधिले आफ्ना विचार खुलेर राख्न, समूहमा मिलेर काम गर्न, नेतृत्व लिन र आत्मविश्वासका साथ बोल्न सहयोग पुगेको बताए । उनीहरूका अनुसार यस्ता अभ्यासले नियमित पढाइसँगै व्यावहारिक ज्ञान र सिर्जनात्मक क्षमता विकास गर्नसमेत मद्दत गरेको छ ।
परियोजना अन्तर्गत सिद्ध कुमाख गाउँपालिकाका निराजन माध्यमिक विद्यालय, महेन्द्र आदर्श माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय शारदा नगरपालिकाका लक्ष्मी माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय र महेन्द्र रत्न आदर्श माध्यमिक विद्यालय तथा त्रिवेणी गाउँपालिकाका त्रिवेणी माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयमा विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन् ।
कार्यक्रममा विद्यालयमा सञ्चालित गतिविधि, तिनबाट प्राप्त उपलब्धि र शैक्षिक क्षेत्रमा देखिएका चुनौतीको समीक्षा गरिएको थियो । शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयमा ल्याउने, विद्यार्थीको सिकाइ उपलब्धि बढाउने र सबै बालबालिकाले समान अवसर पाउने समावेशी शैक्षिक वातावरण निर्माण गर्ने विषयमा पनि छलफल भएको थियो ।
शारदा नगरपालिकाकी शिक्षा शाखा प्रमुख सङ्गीता बुढाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा शिक्षाको पहुँचबाट बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन परियोजनाका गतिविधि उपयोगी हुने बताइन् । त्रिवेणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश आचार्यले विद्यार्थीको सिकाइ र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन परियोजनाले सहयोग गरेको बताए । सिद्ध कुमाख गाउँपालिकाकी शिक्षा शाखा प्रमुख प्रतिभा वलीले अभिभावक, शिक्षक र विद्यालयमा शैक्षिक सचेतना अभिवृद्धि गर्न परियोजनाले योगदान पुर्याएको उल्लेख गरिन् ।
त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावत, सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरी र उपाध्यक्ष रामबहादुर बस्नेतले शिक्षा सुधारका अभ्यासलाई निरन्तरता दिन स्थानीय सरकार, विद्यालय र नागरिक समाजबिचको सहकार्य आवश्यक रहेको बताए । उनीहरूले परियोजनाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सबै बालबालिकाका लागि समान शैक्षिक अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
दलित विकास समाज, सल्यानका कार्यकारी निर्देशक विनायक रेग्मीले सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने र विद्यालयको शैक्षिक सुधारमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्य प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा तीन वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख, वडाध्यक्ष, प्रधानाध्यापक, शिक्षक, जनप्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।