Butwal Today

दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन बन्द

२८ आश्विन २०८३, बुधबार
अ
अ+
अ-
नयाँदिल्ली ।
भारतको राजधानी नयाँदिल्लीस्थित तीन दशकदेखि विरोध प्रदर्शनको प्रमुख स्थल रहँदै आएको जन्तर मन्तरको आधिकारिक मान्यता सरकारले हटाएको छ । यस निर्णयले लोकतान्त्रिक अधिकार र असहमति व्यक्त गर्ने स्थान साँघुरिँदै गएको भन्दै अधिकारकर्मी तथा अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।
दिल्ली प्रहरीले सोमबार जारी गरेको आदेशमा निर्णयको कारण खुलाएको छैन । सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरी र ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का प्रदर्शनकारीबीच झडप भएको केही दिनपछि यो कदम चालिएको हो ।
सन् १९९३ देखि प्रदर्शनस्थलका रूपमा प्रयोग हुँदै आएको जन्तर मन्तरमा ट्रेड युनियन, पूर्वसैनिक, महिला अधिकारकर्मी तथा विद्यार्थीले आफ्ना माग राख्दै आएका थिए । संसद् र सञ्चारमाध्यम नजिक रहेको यो स्थल परीक्षा अनियमितता र मतदाता सूची संशोधनविरुद्धका प्रदर्शनको केन्द्रसमेत बनेको थियो ।
प्रहरीले प्रदर्शनका लागि तीन वैकल्पिक स्थल तोकेको छ । तर अभियन्ताहरूले तीमध्ये दुई सहरको बाहिरी भागमा रहेकाले यातायात खर्च बढ्ने र प्रदर्शनले सञ्चारमाध्यमको कम ध्यान पाउने बताएका छन् । अर्कोतर्फ, आसपासका बासिन्दाले सडक अवरोध, ध्वनि प्रदूषण र फोहोरको समस्या घट्ने भन्दै निर्णयको समर्थन गरेका छन् ।
प्रदर्शनकारीले जन्तर मन्तरमा भेला हुने प्रतिबद्धता जनाएका छन् । प्रहरीले ब्यारिकेड पार गरेर स्थल पुनः प्राप्त गर्न पुगेका सीजेपीका नेताहरूलाई नियन्त्रणमा लिएको थियो । समूहका संस्थापक अभिजित दीप्केले जन्तर मन्तर एउटा स्थान मात्र नभई प्रतिरोधको भावना भएको बताए । मतदाता सूची संशोधनबाट योग्य मतदाता मतदानको अधिकारबाट वञ्चित हुन सक्ने आशङ्काबीच प्रदर्शनकारीले शान्तिपूर्ण अवज्ञा जारी राख्ने बताएका छन् ।
यसैबीच नयाँदिल्लीस्थित जन्तर मन्तरमा प्रवेश गरी राष्ट्रिय झण्डा फहराएको आरोपमा भारतको कक्रोच जनता पार्टी (सिजेपी) का दुई नेता आशुतोष रङ्का र सौरभ दासलाई पाँच दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ ।
पार्टीका संस्थापक अभिजीत दीप्केका अनुसार दिल्ली प्रहरीले आधिकारिक विरोधस्थलको सूचीबाट जन्तर मन्तर सडक हटाएको भोलिपल्ट मङ्गलबार उनीहरूलाई पक्राउ गरेको थियो । दीप्केले सार्वजनिक गरेको भिडियोमा दुवै नेता अवरोध पार गर्दै राष्ट्रिय झण्डा फहराएपछि प्रहरीले नियन्त्रणमा लिएको देखिन्छ ।
यसैबीच, मतदाता सूचीमा हेरफेर गरी प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुर्‍याइएको आरोप लगाउँदै विपक्षी दल र अभियानका समर्थकहरूले निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गरिरहेका छन् । आयोगले भने अनियमितताको आरोप अस्वीकार गरेको छ ।
दीप्केले राष्ट्रिय झण्डा फहराएकै कारण आफ्ना नेताहरूलाई सजाय दिइएको दाबी गर्दै प्रधानमन्त्री मोदीलाई यस विषयमा चुनौती दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?