Butwal Today

वन संरक्षणसँगै समुदायको विकासमा लगानी गर्न आग्रह

२८ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

चन्द्रौटा ।

बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले सामुदायिक वन सरकारको अभिन्न अङ्ग रहेको बताएका छन् । कपिलवस्तुको बुद्धभुमि नगरपालिका–१, चंघाटमा रहेको वनको १६औँ वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

एउटा वडाभन्दा धेरै बजेट सामुदायिक वनमा रहेको बताउँदै सरकारको पैसा समुदायका विकासमा खर्च गर्न आवश्यक रहेको श्रेष्ठले बताए । वन संरक्षण गर्दै स्थानीयलाई रोजगारीसँगै समाज विकासका कार्यमा समेत बजेट परिचालन गर्न उनले आग्रह गरे । स्थानीय सरकारसँग समन्वय गरी बजेट विनियोजन गर्दा शीर्षकहरू नदोहोरिने जनाउँदै प्रभावकारिता बढाउने प्रमुख श्रेष्ठको भनाइ छ ।

यसैबिच बुद्धभुमि नगरपालिका–१ का वडा अध्यक्ष तेज बहादुर बस्नेत (तिलक) ले सीमित बजेटमा वडाले सबै क्षेत्रलाई समावेश गर्नुपर्ने बाध्यता रहेको बताए । सामुदायिक वनले चाहे समुदाय विकासमैत्री कार्यक्रम सञ्चालन गरेर उत्थानमा टेवा पुग्ने उनले जिकिर गरे । सोमबार भएको साधारण सभामा पुगेका बस्नेत वडावासीलाई आत्मनिर्भर, उत्पादनमूलक योजनाहरू ल्याउनुपर्ने बताए ।

यस्तै सब–डिभिजन वन कार्यालय बड्हराका वरिष्ठ वन अधिकृत मुसाफिर भगतले स्थानीय स्रोतसाधनको संरक्षण गर्दै समुदायको विकासका हितमा कार्य गर्न सुझाए । स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक विकासमा टेवा पुग्ने गरी योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । स्थानीय समुदायको सक्रिय सहभागिताबिना संरक्षणका प्रयास प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै संरक्षणसँगै समुदायको आवश्यकता र हितलाई पनि प्राथमिकता दिनुपर्ने भगतले बताए ।

गत आर्थिक वर्षमा वनले १ करोड २९ लाख रुपैयाँ बढीको कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ । वनका अध्यक्ष धर्मराज अधिकारीले वनको संरक्षणसँगै स्थानीयलाई रोजगारीको अवसर प्रदान गर्दै आत्मनिर्भर गराउने कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?