Butwal Today

अवरुद्ध घोराही-कुइरेपानी सडक सुचारु 

२६ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

दाङ । 

आज बिहानदेखि अवरुद्ध घोराही- कुइरेपानी सडक सुचारु भएको छ । टिपरको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै सडक अवरुद्ध गरेका थिए । सडक अवरोध खुलाउने तथा पीडित परिवारलाई न्याय दिलाउने विषयमा प्रहरी नायब उपरीक्षक (डिएसपी) डा. हेम केसीको विशेष सक्रियतामा छलफल भएको थियो ।

स्थानीयवासी, पीडित परिवार र स्वर्गद्वारी टिपर व्यवसायी समितिबिच भएको छलफलपछि सहमति जुटेको हो । सहमतिसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । सहमतिमा घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने र पिडित पक्षलाई कानुन अनुसार क्षतिपूर्ति दिने उल्लेख गरिएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न टिपर चालकलाई नियन्त्रणमा लिइसकेको जनाएको छ । दाङको घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा टिपरको ठक्करबाट प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी ६ वर्षीय राजन अधिकारीको मृत्यु भएको थियो ।

आइतबार साँझ रा.१ ख २५११ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका बालक अधिकारीको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीयवासीले दोषीलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै कुइरेपानीमा घोराही–लमही सडक खण्ड बिहान साढे ११ बजेदेखि  अवरुद्ध गरेका थिए ।

सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?