© 2026
हेटौँडा ।
बागमती प्रदेशले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलमा सहभागिता जनाउने भएको छ ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार प्रतियोगितामा बागमतीबाट ६५६ खेलाडीसहित कुल ७८२ जनाको सहभागिता रहने छ । प्रतियोगिताका लागि प्रदेशका १३ वटै जिल्ला तथा सम्बन्धित खेल सङ्घलाई तयारी र खेलाडी छनोटका लागि पत्राचार गरिएको छ । आगामी कात्तिक १५ गतेभित्र सबै खेलको छनोट प्रक्रिया सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।
कुल ३२ खेलमध्ये १२ खेलमा जिल्लास्तरबाट खेलाडी छनोट गरिनेछन् भने बाँकी खेलमा खुल्ला छनोट हुनेछ । खुल्ला छनोटमा प्रदेशका १३ जिल्लामा बसोबास गर्ने सम्बन्धित खेलका खेलाडी सहभागी हुन सक्ने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।
यसअघि सम्पन्न तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितालाई पनि १०औँ राष्ट्रिय खेलकुदको पूर्वतयारीका रूपमा लिइएको सदस्यसचिव लामाले बताए । उक्त प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनलाई समेत छनोट प्रक्रियासँग जोडिने उनको भनाइ छ ।
राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष प्रशिक्षण दिने तयारी गरिएको छ । खेलाडीको शारीरिक तयारीसँगै खेल मनोविज्ञान, पोषण तथा नियमित प्रशिक्षणलाई प्राथमिकता दिइने परिषद्ले जनाएको छ ।
आवश्यकताअनुसार योग्य प्रशिक्षक नियुक्त गरेर खेलाडीलाई प्रशिक्षण गराइने सदस्यसचिव लामाले बताए । “उत्कृष्ट नतिजाका लागि आवश्यक आधार तयार गर्दैछौँ”, उनले भने । प्रतियोगितामा सहभागिताका लागि बागमती प्रदेशले रु पाँच करोड ६० लाखको स्रोत सुनिश्चित गरेको छ ।
प्रदेश सरकारले प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने व्यवस्थासमेत अघि बढाएको छ ।
प्रदेश सरकारले स्वर्ण पदक विजेतालाई रु एक लाख, रजत पदक प्राप्त गर्नेलाई रु ७५ हजार र कास्य पदक पाउनेलाई रु ५० हजार प्रदान गर्ने गरी कार्यविधि तयार गरिएको परिषद्ले जनाएको छ ।