© 2026
भैरहवा ।
रुपन्देहीको ऐतिहासिक नगरी भैरहवामा ‘भैरहवा दशैं महोत्सव–२०८३’ आयोजना हुने भएको छ । लायन्स क्लब अफ भैरहवा लिगेसीको मुख्य आयोजनामा असोज २५ गतेदेखि कात्तिक ६ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।
गल्लामण्डी रोडस्थित सुगरमिल परिसर, सिद्धार्थनगर–४ मा आयोजना हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकार, भोजपुरी कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । बुधबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवमा दुर्गेश थापा, प्रीति पासवान, गंगु क्षेत्री लगायत भारतबाट अभिनेत्री अक्षरा सिंह, राजा भोजपुरिया लगायतको प्रस्तुति रहने क्लबका अध्यक्ष राजन शुक्लाले बताए । दशैंको अवसरमा मनोरञ्जनसँगै स्थानीय व्यापार–व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
लायन्स क्लब अफ भैरहवा लिगेसीका अध्यक्ष नारायणप्रसाद कोइरालाका अनुसार भैरहवा नेपाल–भारत सीमा नाका, लुम्बिनीको प्रवेशद्वार तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको सम्भावना बोकेको क्षेत्र हो । दशैंको समयमा भारतीय पर्यटकको समेत उल्लेख्य आवागमन हुने भएकाले महोत्सवले पर्यटन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उनले बताए ।
महोत्सवमा भैरहवासहित मर्चवार, लुम्बिनी, परासी, बुटवल, सैनामैना, शुद्धोधन, कञ्चनलगायत आसपासका क्षेत्रबाट आन्तरिक पर्यटक तथा दर्शकलाई आकर्षित गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यसअघि क्लबले आयोजना गरेको प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त मेलाले भैरहवाको सांस्कृतिक तथा मनोरञ्जनात्मक पहिचानलाई थप स्थापित गर्न योगदान पुर्याएको भन्दै यसपटक दशैंको अवसर पारेर महोत्सवलाई थप व्यवस्थित र बृहत् बनाउने तयारी गरिएको हो ।
महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रमसँगै विभिन्न व्यवसाय तथा उत्पादनका स्टलसमेत रहने जनाइएको छ । दशैंका लागि भैरहवा आउने स्थानीय तथा भारतीय पर्यटकलाई लक्षित गरी महोत्सव स्थलमा विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिने आयोजकको भनाइ छ ।
‘भैरहवा दशैं महोत्सव–२०८३’ को मुख्य आयोजक लायन्स क्लब अफ भैरहवा लिगेसी रहेको छ भने जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि आयोजक, सिद्धार्थनगर नगरपालिका–४ नम्बर वडा कार्यालय र मायादेवी गाउँपालिका सह–आयोजक तथा सिद्धार्थनगर नगरपालिका संरक्षक रहेका छन् । राधाकृष्ण एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले व्यवस्थापन गर्नेछ ।