Butwal Today

थला परे गुल्मीका आधारभूत अस्पताल

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

तम्घास । 

गुल्मीका आधारभूत अस्पताल लामो समयदेखि यसै थला परेका छन् । शिलान्यास भएको छ वर्ष हुन लाग्दा  पनि आधारभूत अस्पताल यसै थला परेर बसेका हुन् । २०७७ साल मङ्सिर १५ गते तत्कालीन  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका तीन सय ९६ स्थानीय तहहरूमा एकै दिन अस्पतालहरूको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था  अझै पनि दयनीय छन्  ।

अस्पतालको शिलान्यास गर्नका लागि तत्कालीन केन्द्रीय मन्त्री, पूर्व मन्त्री, प्रदेश स्तरका मन्त्री र प्रदेश सभा सदस्यहरूले गाउँ–गाउँमा पुगेर एकै दिन दुई तीन वटा अस्पतालको शिलन्यास गर्नसमेत हतार हतार गर्नुभयो । शिलान्यास भएको झन्डै छ वर्ष  पुग्न लाग्दा पनि अस्पताल निर्माणको कामले गति लिन सकेका  छैनन् ।

छत्रकोटमा निर्माण नै सुरु भएन 

छत्रकोट गाउँपालिकाको १५ शैयाको अस्पताल तत्कालीन लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिलन्यास गरेका हुन् ।  वडा नं ४ श्रृङ्गामा अस्पतालको शिलन्यास गरेको झन्डै छ वर्ष पुग्न लाग्दासमेत अस्पताल बन्ने होकी होइन भन्नेमै अन्योल स्थिति  पैदा भएको  छ  ।

शिलान्यास गरिएको जग्गा भवन मापदण्ड अनुसार नभएकाले शिलान्यास गरिएको जग्गाको करिब तीन सय मिटर पर लामो कसरत पश्चात् जग्गाको व्यवस्थापन  गर्ने कार्य सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाका सूचना अधिकारी हरि टण्डनका  अनुसार जग्गा प्राप्तिको कार्य सम्पन्न भई डिपीआर लगायतका कार्य सम्पन्न भए पनि सङ्घीय सरकारबाट अनुमति लिनुपर्ने र पछिल्लो समयमा बोलपत्र लगायतका कार्यहरू नगर्न सङ्घीय सरकारबाट परिपत्र आएका बताउँदै सबै कार्य रोकिएको उनको भनाइ छ ।  आधारभूत अस्पताल बन्ने कुनै निश्चित नभएपछि श्रृङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई गत महिना मात्रै पाँच शैयाको अस्पतालमा परिणत गरी सञ्चालनमा ल्याएको छ ।

मालिका,इस्मा र धुर्कोटमा ४५ प्रतिशत काम

मालिका गाउँपालिका वडा नं ४ अर्खबाङ्गमा पूर्व मन्त्री तथा सङ्घीय सांसद  गोकर्णराज विष्टले तामझामका साथ अस्पतालको शिलान्यास गरे । उक्त शिलन्यास गरिएको अस्पताल लामो समयसम्म शिलान्यासमै मात्र सीमित रहन पुग्यो ।

शिलान्यास गरिएको जग्गामा मापदण्ड नपुगेकाले नजिकै जग्गाको व्यवस्थापन गरी अस्पताल निर्माणको कार्य अगाडी बढेको छ । गाउँपालिकाका  इन्जिनियर संयोग मरासिनीका अनुसार  हालसम्म करिब ४५ प्रतिशत भौतिक र ४०  प्रतिशत वित्तीय प्रगति भएको छ । धुर्कोट गाउँपालिको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको वेस ९घडेरी मा०पहिरो आएका कारण निर्माणको कार्य अगाडि बढ्न सकेको थिएन ।

गाउँपालिकाका प्राविधिक शाखाका कृष्ण पहराइका  अनुसार लामो समयको कसरत पश्चात् मन्त्रालयबाट डिपिआर र नक्सा केही परिवर्तन गरी गत वर्षबाट अस्पतालको निर्माण कार्य सुरु गरिएको छ ।  अहिले अस्पताल निर्माणको भौतिक प्रगति करिब ४५ प्रतिशत भएको उनको भनाइ छ । पूर्व मन्त्री समेत रहेका गोकर्णराज विष्टले शिलान्साय गरेको अस्पताल निर्माणको जिम्मा रविना–अर्जुन–न्यु लिजा जेभीले १३ करोड बढीको लागतमा पाएको छ ।

इस्मा गाउँपालिकाका इन्जिनियर हरिप्रसाद पाण्डेका अनुसार इस्मा गाउँपालिका ४ दोहली स्थित गुरुङगाडेमा १५ शैयाको अस्पताल निर्माणको कार्य करिब४५ प्रतिशत भौतिक प्रगति र ४२ प्रतिशत आर्थिक प्रगति भएको छ । १० करोड ८५ लाख ३६ हजारको लागतमा सुनिल समिर निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ ।

रुरुक्षेत्रमा ९० प्रतिशत काम

गाउँपालिकाका इन्जिनियर सुशील पन्थीका अनुसार रुरु क्षेत्र गाउँपालिकाको वडा नं १ को रातामाटामा निर्माणाधीन अस्पतालको करिब ९० प्रतिशत  भौतिक प्रगति र वित्तीय प्रगति ७५ प्रतिशत भएको छ । निर्माण व्यवसायी भागवत गिरीले दसैँसम्म निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने गरी आफू लागेको बताएका छन् ।  अस्पतालको लुम्बिनी प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिलान्यास गरेका थिए । प्रकृति–पिटिआर–अधिकारी–राजेश्वरी जेभी सन्धिखर्कले १४ करोड ४२ लाख ८२ हजार ६ ५९ रुपियाँको लागतमा अस्पताल निर्माणको जिम्मा पाएको छ ।

कालीगण्डकीमा ७० प्रतिशत भौतिक प्रगति

तत्कालीन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बाजागाजा र तामझामका साथ शिलान्यास गरेको अस्पतालको ७० प्रतिशत भौतिक र आर्थिक  प्रगति  ४५ प्रतिशत भएको छ । गाउँपालिकाको वडा नम्बर तीन कनौटामा करिब साढे १२ करोडको लागतका खिम्ती–श्रेष्ठ–अन्जना जेभिले अस्पताल निमार्णको कार्य गरेको छ ।  उक्त अस्पतालको शिलन्यास गरे लगत्तै मन्त्री ज्ञवाली प्रभुको हेलीमार्फत पोखरा हुँदै मन्त्री परिषद्को बैठकमा सामेल हुन हतारमा काठमाडौँ फर्किएका थिए ।

सत्यवती गाउँपालिकामा १५ शैयाको अस्पताल वडा नं ६ जोहांङमा निर्माणाधीन अवस्थामा छ । गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेका अनुसार करिब ८५ प्रतिशत भौतिक प्रगति भएको छ । मङ्सिर मसान्तसम्म कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीसँग सहमति भएको र सोही अनुसार नै म्याद थप गर्ने गरी योजना बनाएको उनको भनाइ छ ।  १२ करोड बढीको लागतमा आशिष योगेश्वर जेभी काठमाडौँ निर्माण सेवाले निर्माण कार्यको जिम्मा पाएको छ ।

मदाने गाउँपालिकामा वडा नं ६ पुर्कोटदहमा अस्पताल निर्माणको  भौतिक प्रगति ६४ र वित्तीय प्रगति ५८ प्रतिशत रहेको छ । हिमदुम–एसी निर्माण कम्पनी बाग्लुङले १२ करोड ४८ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको छ  ।

मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर गौतमका अनुसार मुसिकोट नगरपालिका वडा नं ७ मा १५ शैयाको  अस्पतालको निर्माण कार्य ९५ प्रतिशत भौतिक प्रगति  र ८५ प्रतिशत वित्तीय प्रगति भएको छ । उक्त अस्पतालको निर्माणको जिम्मा खिम्ती–श्रेष्ठ–कालीगण्डकी जेभीले  पाएको छ । ११ करोड १० लाख २६ हजार १०८ रुपियाँ लागतमा अस्पताल निर्माण हुनेछ ।

दुई अस्पताल सम्पन्न भई सञ्चालनमा 

गुल्मी दरबार गाउँपालिकाको वडा नं ३ को झाँक्री डाँडामा १५ शैयाको  अस्पताल निर्माण कार्य सम्पन्न भई सञ्चालनमा ल्याएको छ ।  उक्त अस्पताल बिकोइ–अर्जुन–न्यू लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको थियो ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा पनि अस्पताल निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको छ । कुल  १३ करोड ६६ लाख ४४ हजार सात सय ३६ रुपियाँमा तुल्सीभक्त–अर्जुन बिल्डर्स जेभीले निर्माण सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?