Butwal Today

हावाहुरीले सुनछहरीमा ठूलो क्षति, किशोरीको मृत्यु, १५० भन्दा बढी पशुचौपाया मरे

११ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

रोल्पा ।

रोल्पाको सुनछहरी गाउँपालिका–२, भित्रीगाममा मंगलबार आएको भीषण हावाहुरीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । हावाहुरीका कारण रुख ढल्दा एक किशोरीको मृत्यु भएको छ भने ठूलो संख्यामा पशुचौपाया मरेका छन् ।

सुनछहरी गाउँपालिका–२ का वडा अध्यक्ष कृष्णबहादुर बुढाका अनुसार भित्रीगामको विवाङ क्षेत्रमा मंगलबार अपराह्न करिब साढे ४ बजे जङ्गलमा रुख ढल्दा करिब १६ वर्षीया उस्मिता बुढामगरको मृत्यु भएको हो । गाई, भेडा तथा बाख्रा चराउने क्रममा अचानक आएको हावाहुरीले रुख ढल्दा किशोरी चपेटामा परेको उनले बताए ।

हावाहुरीका कारण मृतक किशोरीको शवसमेत तत्काल घटनास्थलबाट निकाल्न सकिएको छैन । ठूलो रुखले च्यापेको अवस्थामा शव रहेकाले स्थानीयस्तरबाट उद्धारको प्रयास भइरहेको भए पनि प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण समस्या भइरहेको वडा अध्यक्ष बुढाले बताए ।

हावाहुरीबाट ठूलो संख्यामा पशुचौपायासमेत मरेका छन् । प्रारम्भिक विवरणअनुसार भित्रीगाम क्षेत्रमा मात्रै १५० भन्दा बढी गाई, भेडा तथा बाख्रा मरेका छन् । यद्यपि पशुचौपायाको क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहेको वडा अध्यक्ष बुढाले बताए ।

स्थानीयवासीले जङ्गलमा चराउन लगेका पशुचौपाया हावाहुरीका क्रममा रुख ढल्दा चपेटामा परेका हुन् । कतिपय स्थानमा रुखले च्यापिएका पशुचौपायाको उद्धार गर्नसमेत कठिन भइरहेको जनाइएको छ । स्थानीयवासी उद्धार तथा क्षतिको विवरण संकलनमा जुटेका छन् ।

हावाहुरीले घर तथा सार्वजनिक संरचनामा समेत क्षति पुर्‍याएको छ । विद्यालय, स्वास्थ्य संस्था तथा स्थानीयवासीका घरका जस्तापाता हावाले उडाएको छ । कतिपय भवनका छाना क्षतिग्रस्त भएका छन् भने खेतबारीमा लगाइएका बाली तथा कृषि संरचनामा समेत क्षति पुगेको वडा अध्यक्ष बुढाले बताए ।

हावाहुरीसँगै विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि समन्वय गर्नसमेत कठिनाइ भएको छ । मोबाइल टावरमा समस्या आएपछि स्थानीयवासीसँग सम्पर्क गर्न कठिन भएको वडा अध्यक्ष बुढाले बताए ।

घटनापछि स्थानीयस्तरमा उपलब्ध जनशक्ति परिचालन गरी उद्धारको प्रयास भइरहेको छ । जङ्गल तथा बस्तीका विभिन्न स्थानमा रुख ढलेका कारण सडक तथा पैदलमार्गसमेत प्रभावित भएका छन् । यसले बाहिरी क्षेत्रबाट उद्धार टोली, सामग्री तथा आवश्यक सहयोग घटनास्थलसम्म पुर्‍याउन थप कठिनाइ भएको जनाइएको छ ।

वडा अध्यक्ष बुढाले मृतक किशोरीको शव उद्धार, रुखले च्यापिएका पशुचौपायाको अवस्था पहिचान तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने कामलाई प्राथमिकतामा राखिएको बताए । उनले सम्बन्धित निकायलाई तत्काल उद्धार तथा राहत टोली पठाउन आग्रह गरेका छन् ।

दुर्गम क्षेत्र भएकाले सामान्य अवस्थामा समेत आवश्यक सेवा तथा उद्धार सामग्री पुग्न समय लाग्ने र अहिले हावाहुरीका कारण सडक, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएकाले अवस्था थप जटिल बनेको वडा अध्यक्ष बुढाको भनाइ छ ।

प्रतिकूल मौसम र सञ्चार अवरोधका कारण घटनाको विस्तृत विवरण आउन सकेको छैन । थप विवरण संकलन तथा उद्धार कार्य अघि बढेसँगै हावाहुरीबाट भएको मानवीय, पशु तथा भौतिक क्षतिको वास्तविक अवस्था स्पष्ट हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?