© 2026
अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम फेरबदल गरिएको छ । लगातारको वर्षाका कारण जनजीवन प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै निर्वाचन कार्यक्रम परिवर्तन गरिएको हो । नेपाली कांग्रेस १५औँ महाधिवेशन जिल्ला निर्वाचन समिति अर्घाखाँचीले शुक्रबार विज्ञप्ति जारी गर्दै यसअघि तय भएको निर्वाचन कार्यक्रम स्थगित गरी नयाँ मिति सार्वजनिक गरेको हो । नेपाल सरकार, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर केही दिन भारी वर्षा भई जनजीवन प्रभावित हुनसक्ने सम्भावना जनाएपछि निर्वाचन कार्यक्रम परिवर्तन गरिएको समितिले जनाएको छ ।
नयाँ कार्यतालिकाअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका लागि मनोनयन दर्ता २०८३ असोज ११ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । त्यसैगरी निर्वाचन २०८३ असोज १२ गते गर्ने निर्णय गरिएको छ । विज्ञप्तिमा मुख्य निर्वाचन अधिकृत अञ्जु रेग्मीले हस्ताक्षर गर्नुभएको छ । यसअघि नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत २०८३ असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन गर्ने कार्यक्रम तय गरिएको थियो । तर मौसम प्रतिकूल हुने सम्भावनाका कारण उक्त कार्यक्रम स्थगित गरिएको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको २०८३ असोज ८ गतेको प्रेस विज्ञप्ति तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको आकस्मिक बैठकको निर्णयसमेतका आधारमा नयाँ निर्वाचन कार्यतालिका तय गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।