© 2026
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद मञ्जु भुसालले नागरिक लगानी कोषलाई थप सक्षम, पारदर्शी र प्रभावकारी बनाउँदै नागरिकको बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने बताएकी छन्। प्रतिनिधिसभामा ‘नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा धारणा राख्दै सांसद भुसालले बचतलाई उत्पादनशील लगानीमा परिचालन, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन र पूँजी बजारमा गतिशीलता ल्याउन नागरिक लगानी कोषको महत्वपूर्ण भूमिका रहेको बताइन्।
उनले अधिकृत तथा चुक्ता पूँजी वृद्धि, शेयर लगानी विस्तार, सञ्चालक समितिको काम, कर्तव्य र अधिकार तथा कार्यकारी निर्देशकको जिम्मेवारी स्पष्ट गर्ने प्रस्ताव सकारात्मक रहेको बताइन्। सांसद भुसालले अधिकारसँगै सञ्चालक समिति र कार्यकारी नेतृत्वको जवाफदेहिता, व्यावसायिकता तथा जोखिम व्यवस्थापनलाई पनि बलियो बनाउनुपर्नेमा जोड दिइन्। उनका अनुसार ऐन संशोधनसँगै नागरिकको बचतको सुरक्षा, पारदर्शिता, सुशासन र लगानीको प्रतिफलमा विशेष ध्यान दिन आवश्यक छ। कोषको लगानी उत्पादनशील क्षेत्र, पूर्वाधार तथा रोजगारी सिर्जनामा परिचालन गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
त्यस्तै, डिजिटल सेवा विस्तार गरी योगदानकर्ता तथा सेवाग्राहीले आफ्नो लगानी र त्यसबाट प्राप्त प्रतिफलसम्बन्धी सूचना सहज रूपमा प्राप्त गर्ने व्यवस्था गर्नुपर्ने उनले बताइन्। ‘बचतलाई लगानी, लगानीलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्ने माध्यमका रूपमा नागरिक लगानी कोषलाई थप सुदृढ बनाउनु आजको आवश्यकता हो,’ सांसद भुसालले भनिन्।
उनले आवश्यक सुधारसहित विधेयकलाई अघि बढाउन समर्थन जनाएकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले कोषलाई समयानुकूल विकास गर्दै सुरक्षित, पारदर्शी र प्रतिफलयुक्त लगानी विस्तार गर्नुपर्ने धारणा राखेका थिए। कोषले हाल करिब ३ खर्ब ३७ अर्ब रुपैयाँको बचत व्यवस्थापन गरिरहेको जनाइएको छ।