© 2026
रियाद ।
संयुक्त राष्ट्रसङ्घले साउदी अरबमाथि हुथी समूहबाट भइरहेका सीमापार आक्रमणको निन्दा गर्दै यमन तथा आसपासमा बढ्दो सैन्य तनावले सर्वसाधारणमा गम्भीर असर पार्न सक्ने भन्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले राजधानी रियादलाई लक्षित गर्ने प्रयाससहित साउदी अरबमाथि जारी हुथी आक्रमणको निन्दा दोहो¥याएका छन् । उनका अनुसार साउदी अरबका विभिन्न स्थानमा नागरिक तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरिएका आक्रमणप्रति पनि संयुक्त राष्ट्रसङ्घ चिन्तित छ ।
पत्रकार सम्मेलनमा उनले यमनका ताइज, लाहज र मारिबलगायत क्षेत्रमा बढिरहेको सैन्य गतिविधिले यमन तथा समग्र क्षेत्रका नागरिकमा गम्भीर मानवीय असर पार्न सक्ने बताए । उनले सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गतका दायित्व पूरा गर्न र नागरिक तथा नागरिक पूर्वाधारमाथि प्रत्यक्ष आक्रमण नगर्न आग्रह गरे ।
यसैबीच, यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्ग ओमानको राजधानी मस्कटमा रहेका छन् । उनले ओमानका वरिष्ठ अधिकारी तथा हुथी प्रतिनिधिसँग भेटवार्ता गरिरहेको डुजारिकले जानकारी दिए ।
यमनमा बढ्दो तनावले क्षेत्रीय सुरक्षासँगै विश्व व्यापार र ऊर्जा आपूर्तिमा समेत असर पार्ने चिन्ता बढेको छ । हुथी समूहले लाल सागर क्षेत्रमा गरेको गतिविधिपछि महत्त्वपूर्ण जलमार्ग तथा ऊर्जा पूर्वाधारको सुरक्षाबारे अन्तर्राष्ट्रिय चिन्ता थपिएको छ ।
यसैबीच, जी–७ राष्ट्रका विदेशमन्त्रीहरूले पनि साउदी अरबमाथिका हुथी आक्रमणको निन्दा गर्दै तत्काल सैन्य गतिविधि रोक्न, नागरिक पानीजहाजमाथिका धम्की तथा आक्रमण अन्त्य गर्न र राजनीतिक प्रक्रियामा फर्कन आह्वान गरेका छन् । उनीहरूले इरानलाई हुथी समूहलाई हतियार तथा सहयोग उपलब्ध नगराउन आग्रह गरेका छन् ।
सन् २०१४ मा हुथी समूहले राजधानी साना कब्जा गरेपछि सुरु भएको यमनको युद्ध सन् २०२२ देखि तुलनात्मक रूपमा शान्त रहे पनि यस वर्ष जुलाईदेखि पुनः तीव्र बनेको हो । साउदी अरबले सन् २०१५ देखि अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा गठित गठबन्धनको नेतृत्व गर्दै आएको छ । लामो समयदेखि जारी द्वन्द्वले यमनमा गम्भीर मानवीय सङ्कट निम्त्याएको छ ।
पछिल्लो तनावका क्रममा हुथीहरूले रियादलाई लक्षित गरी आक्रमणको प्रयास गरेका थिए । हुथीहरूले लाल सागरको बन्दरगाह सहर यान्बुमा साउदी तेल कम्पनी अराम्कोसँग सम्बन्धित पूर्वाधारलाई समेत लक्षित गरेको दाबी गरेका छन् । साउदी पूर्व–पश्चिम तेल पाइपलाइनमा ड्रोन आक्रमणपछि तेल निर्यातमा असर परेको रियादले जनाएको छ ।
बढ्दो तनावका बीच बेलायतले साउदी लडाकू विमानका लागि रक्षात्मक हवाई इन्धन भर्ने सहयोग उपलब्ध गराउने सहमति जनाएको छ । फ्रान्सले पनि हुथी आक्रमणको जोखिममा रहेका साउदी ऊर्जा पूर्वाधारको सुरक्षामा सहयोग गर्न तयार रहेको जनाएको छ । दुवै मुलुकले आफ्नो सहयोग रक्षात्मक प्रकृतिको रहेको बताएका छन् ।