© 2026
बर्दघाट ।
बर्दघाट नगरपालिका १० स्थित एक घरमा क्रियापुत्री बसेकै कोठाबाट ठूलो गोमन सर्प उद्धार गरिएको छ ।
स्थानीय शेषकान्त पौडेलका बुवाको निधन भएपछि उनका छोराहरू क्रियामा बसेका थिए । सोमबार राति क्रियापुत्री बसेकै कोठामा अचानक ठूलो गोमन सर्प प्रवेश गरेपछि परिवारमा त्रास फैलिएको थियो।सर्प देखिएपछि परिवारले तत्काल बर्दघाट नगरपालिकाका सर्प उद्धारकर्मी दुर्गा लामिछानेलाई खबर गरेका थिए ।
सूचना पाएलगत्तै पुगेका लामिछानेले सावधानीपूर्वक सर्पलाई कोठाबाट बाहिर निकालेर सुरक्षित स्थानमा लगेका हुन् । गर्मी मौसममा नवलपरासी क्षेत्रमा विषालु सर्पको गतिविधि बढ्ने गरेको पाइन्छ । घर तथा मानव बस्तीमा सर्प प्रवेश गर्ने क्रम बढेसँगै सर्प उद्धारकर्मीको भूमिका पनि महत्वपूर्ण बन्दै गएको छ ।
हेर्दा सामान्य जस्तो लागे पनि विषालु सर्पको उद्धार जोखिमपूर्ण र चुनौतीपूर्ण काम हो । उद्धारकर्मी लामिछानेले यसअघि पनि बर्दघाट तथा आसपासका क्षेत्रमा घर, गोठ, विद्यालयलगायत स्थानमा प्रवेश गरेका सयौँ सर्पको सुरक्षित उद्धार गर्दै आएका छन् ।
सर्प उद्धारका क्रममा स्थानीयवासीलाई सचेत गराउने तथा विषालु सर्पबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणमा समेत लामिछानेले योगदान पुर्याउँदै आएका छन् । उनको उद्धार कार्यलाई बर्दघाट नगरपालिकाले समेत प्रोत्साहन गर्दै आएको छ ।
सर्प देखिएमा आफैँ समात्ने वा मार्ने प्रयास नगरी सम्बन्धित उद्धारकर्मीलाई खबर गर्नुपर्ने सर्प उद्धारकर्मी लामिछानेको सुझाव छ ।