© 2026
नियमित खोप कार्यक्रमअन्तर्गत नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप पहिलो चरणमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा असोज महिनाको अन्त्यसम्म सञ्चालन गर्न लागेको छ ।
सोहीबमोजिम रूपन्देहीमा पहिलो चरण असोज ५ देखि ८ गतेसम्म र दोस्रो चरण असोज १२ देखि १५ गतेसम्म सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचीकृत स्वास्थ्य संस्थाहरूबाट कक्षा ६ मा अध्ययनरत छात्रा र विभिन्न कारणले विद्यालयबाहिर रहेका १० वर्षका किशोरीहरूलाई एचपिभी खोप दिइँदैछ । विद्यालयलाई खोप केन्द्रका रूपमा स्थापना गरी निःशुल्क रूपमा राष्ट्रिय खोप अभियान सञ्चालन हुँदैछ ।
महिलाहरूमा हुने पाठेघरको क्यान्सरजस्तो घातक रोगबाट भविष्यका कर्णधारका रूपमा रहेका बालिकाहरूलाई पूर्ण रूपमा बचाउनका लागि हरेक बाबुआमा, दाजुभाइ, दिदीबहिनी र सम्पूर्ण स्वास्थ्यका सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । भनिन्छ नि, “रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस ।” ठीक त्यसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्वका साथ हेरिएको छ ।
त्यस कारणले गर्दा हरेक स्वास्थ्य संस्थाबाट सञ्चालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै संवेदनशील र अनिवार्य रूपमा प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमका रूपमा हेरिएको छ । त्यसैले एचपिभी खोप अभियान २०८३ मा सम्पूर्ण सरोकारवालाहरू सहभागी भई सफल बनाउनु हामी सबैको दायित्व र कर्तव्य हुनेछ ।
एचपिभी एक प्रकारको भाइरस हो। यसलाई ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एचपिभी हो । यो भाइरसका २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छन् । यसमध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन् भन्ने कुरा विभिन्न अध्ययनहरूले देखाएको छ ।
नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी दुई प्रजातिबाट भएको पाइन्छ । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एचपिभी भाइरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुन्छ । भने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ ।
एचपिभी खोपको महत्व
“खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्दछ ।” खोप ठूलो जनसमूहमाथि सुरक्षा प्रदान गर्ने साधन हो । अहिले एचपिभी खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीहरूलाई दिँदै आइरहेको छ । त्यसैले यसको प्रभावकारिता शतप्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाएको छ । कक्षा ६ मा अध्ययनरत सबै छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीहरूलाई अनिवार्य रूपमा खोप लगाउन समावेश गराऔँ ।
पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा नरहने अवस्थामा पु¥याउन नेपाल सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाका गन्तव्य निर्धारण गरेको छ ।
१. १० देखि १४ वर्ष उमेरभित्रका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने ।
२. ३० देखि ४९ वर्ष उमेरका महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) गर्ने ।
३. पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरूको उपचार गर्ने ।
एचपिभी खोप अभियान २०८३ पहिलो चरणमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा एकैसाथ सञ्चालनमा रहने भएता पनि विभिन्न स्थानीय तहअनुसार मिति र समय फरकफरक हुने भएकाले आ–आफ्नो पायक पर्ने टोलका विद्यालयमा कहिले चल्दै छ भनेर स्वास्थ्यकर्मीहरू, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय नर्स, विद्यालयका शिक्षक, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूलाई सोधेर जानकारी लिऔँ तर अभियानमा कोही नछुटौँ ।
रूपन्देहीमा एचपिभी खोप अभियान विगत तीन वर्षदेखि सञ्चालन हुँदै आइरहेको छ । रूपन्देहीमा २०८१ सालमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई दिइएको एचपिभी खोप ५८ हजार ९ सय किशोरीहरूले पाएका थिए । भने २०८२ सालमा नियमित खोपअन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेर समूहका गरी १२ हजार ४१९ जना किशोरीहरूलाई एचपिभी खोप दिइएको थियो ।
सोहीअनुरूप यस वर्ष २०८३ मा पनि कक्षा ६ मा अध्ययनरत सबै छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेर समूहका गरी १२ हजार ९० जना किशोरीहरूलाई एचपिभी खोप दिन लागिएको स्वास्थ्य कार्यालय रूपन्देहीले बताएको छ ।
यो खोप एक मात्रा लगाए पुग्दछ । किशोरीहरू महिनावारी भएको बेलामा पनि यो खोप लगाउन मिल्दछ । यसले नियमित हुने महिनावारीलाई कुनै असर गर्दैन। खोप लगाउँदैमा महिनावारी छिटो सुरु हुने वा ढिला हुने केही हुँदैन । त्यसैले एचपिभी खोप अभियान चलेको बेलामा केही कारण देखाएर कोही नछुटौँ, कोही नदोहोरिऔँ ।
यसरी नेपाल सरकारबाट अभियानका साथै नियमित रूपमा निःशुल्क वितरण गरिएका सबै महत्वपूर्ण खोपहरूलाई प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकारवाला, राज्यका तीनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, प्रशासन लगायत सबैको आ–आफ्नो तहबाट सहयोग र सहकार्य रहेमा मात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ। त्यसैले सबैले मिलेर यो अभियान सफल पारौँ र आ–आफ्ना बालिकाहरूलाई घातक रोगबाट बचाऔँ ।
एचपिभी खोप पाठेघरको मुखको क्यान्सरबाट बच्ने महत्वपूर्ण सुरक्षात्मक उपाय भएकाले लक्षित उमेर समूहका कुनै पनि किशोरी खोपबाट वञ्चित नहुने वातावरण बनाउन परिवार, विद्यालय, स्वास्थ्य संस्था र स्थानीय तहले समन्वय गर्न आवश्यक छ । सही सूचना लिएर निर्धारित समयमा खोप केन्द्रमा पुगौँ र किशोरीहरूको सुरक्षित भविष्यका लागि एचपिभी खोप अभियानलाई सफल बनाऔँ ।
स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी