© 2026
काठमाडौँ । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा एउटा न्यून चापीय प्रणाली बनेको छ । उक्त प्रणाली आगामी दिनमा थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशका विभिन्न भागमा मौसम बदली भएको छ । कोसी र बागमती प्रदेशका सबै भूभागका साथै गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधरणतया बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली भएको छ ।
देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ । कोसी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार देशका हिमाली तथा पहाडी भूभाग, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा साधरणतया बदली रहनेछ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, मधेस प्रदेश तथा कोसी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
विशेष गरी कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।