Butwal Today

कामको बोझले थला परे ग्रामीण बस्तीका महिला

४ आश्विन २०८३, आइतबार
अ+
अ-

पाल्पा ।

पूर्वखोला गाउँपालिका–देवीनगरकी रामकुमारी कार्कीले भारी काम नगरेको दुई दशकभन्दा बढी भयो । कलिलै उमेरमा आफूभन्दा करिब २० वर्ष जेठा पुरुषसँग विवाह गरेकी उनी विवाहपछि लगातार गर्भवती भइन् । सात–आठ सन्तान जन्माउँदा सुत्केरी अवस्थामा पर्याप्त आराम र पोषणयुक्त खाना पाइनन् । त्यसैको परिणामस्वरूप अहिले उनी पाठेघर खस्ने समस्याका कारण सामान्य काम गर्नसमेत नसक्ने अवस्थामा पुगेकी छन् ।

देवीनगरकै मालती सुनारको पीडा पनि उस्तै छ । सानै उमेरमा विवाह, त्यसपछि छिट्टै आमा बन्नुपर्ने अवस्था र घरको कमजोर आर्थिक अवस्थाले उनलाई सुत्केरी अवस्थामा समेत आराम गर्ने अवसर दिएन । पोषणयुक्त खाना त परै जाओस्, पेटभरि खाना खानसमेत नपाउने अवस्था रहेको उनी बताउँछिन् ।

“सुत्केरी भएको १५ दिन नपुग्दै मेला–पात जानुपथ्र्यो,” उनले भनिन्, “गरिबीले गर्दा आराम गर्ने र राम्रो खाने कुरा सोच्नै पाइएन। अहिले त्यसैको परिणाम भोगिरहेकी छु ।”

माथागढी गाउँपालिकाकी ७० वर्षीया कमला सारुले पनि जीवनको ठूलो हिस्सा श्रममै बिताइन् । सुत्केरी भएपछि आराम गर्नुको सट्टा घाँसको भारी बोक्ने, डोकोमा मल बोक्ने र गाउँबेँसी गर्ने उनको दैनिकी थियो । अहिले त्यसको असर पाठेघर खस्ने समस्याका रूपमा भोगिरहेको उनी बताउँछिन् ।

उनका अनुसार पहिले स्वास्थ्य सेवाको पहुँच निकै कमजोर थियो । घाँस–दाउरा गर्न जंगल गएका बेला प्रसव पीडा सुरु हुनु सामान्यजस्तै थियो । कतिपय अवस्थामा जंगलमै बच्चा जन्माएर घाँसको भारीसँगै बच्चालाई बोकेर घर फर्किनुपरेको उनको अनुभव छ ।

“सुत्केरी भएपछि पनि १०–११ दिनभन्दा बढी आराम गर्न पाइँदैनथ्यो,” उनले भनिन्, “त्यसपछि फेरि घाँस, दाउरा, मल र खेतबारीको काममा फर्किनुपथ्र्यो ।”

निस्दी गाउँपालिका–ज्यामिरेकी १८ वर्षीया कल्पना नेपालीको अवस्था भने अझै कलिलै उमेरमा पाठेघर खस्ने समस्यासँग जुध्नुपर्ने अवस्थाको उदाहरण हो । आर्थिक अवस्था कमजोर भएका कारण पढाइ छाडेर विवाह गर्नुपरेको र विवाहपछि आमा बनेसँगै पोषणयुक्त खानाको अभाव तथा कामको बोझका कारण पाठेघर खस्ने समस्या देखिएको उनी बताउँछिन् ।

निस्दी गाउँपालिका–सहलकोटकी ५७ वर्षीया मनकला लामिछानेको अनुभव पनि ग्रामीण महिलाको कठिन जीवनसँग जोडिएको छ । सानै उमेरमा विवाह भएपछि घाँस–दाउरा र मेलापात उनको नियमित काम बन्यो । गर्भवती हुँदा पनि खेतबारीको कामबाट छुटकारा मिलेन ।

“खेत रोप्दारोप्दै बच्चा जन्मिएको थियो,” उनले भनिन्, “सुत्केरी भएपछि पनि राम्रोसँग खान र आराम गर्न पाइएन। त्यसपछि बिस्तारै आङ खस्ने समस्या सुरु भयो ।”

स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूका अनुसार बालविवाह, कम उमेरमै गर्भधारण, पटक–पटक गर्भधारण वा गर्भपतन, सुत्केरी अवस्थामा पर्याप्त आरामको अभाव र पोषणयुक्त खानाको कमी पाठेघर खस्ने समस्यासँग जोडिएका प्रमुख कारण हुन् । ग्रामीण क्षेत्रमा महिलामाथि रहेको अत्यधिक शारीरिक श्रमले पनि समस्या थप जटिल बनाउने गरेको उनीहरूको भनाइ छ ।

स्वास्थ्य शिक्षा र सञ्चारको पहुँच विस्तार भए पनि ग्रामीण बस्तीमा, विशेषगरी आर्थिक रूपमा कमजोर तथा केही जनजाति समुदायमा, बालविवाह अझै चुनौतीका रूपमा रहेको स्थानीय अभियन्ताहरू बताउँछन् । बालविवाहका कारण किशोरीहरू कम उमेरमै गर्भवती हुने र त्यसपछि घरायसी तथा कृषि श्रममा संलग्न हुनुपर्ने अवस्थाले महिलाको स्वास्थ्यमा दीर्घकालीन असर पार्ने गरेको उनीहरूको भनाइ छ ।

रैनादेवी छहरा गाउँपालिका–सत्यवतीकी ५७ वर्षीया एक महिलाले पनि लामो समयदेखि पाठेघर खस्ने समस्या भोग्दै आएकी छन् । उनकी छोरी स्वास्थ्यकर्मी हुन् । स्वास्थ्यसम्बन्धी जानकारी घरमै भए पनि आफ्नो जीवनभरको कामको बोझकै कारण समस्या आएको उनी बताउँछिन् ।

“सहरमा महिलाले गर्ने शारीरिक काम र गाउँमा महिलाले गर्ने काममा धेरै फरक छ,” उनले भनिन्, “गाउँका महिलाले बिहानदेखि बेलुकासम्म खेतबारी, घाँस–दाउरा र घरायसी काम गर्नुपर्छ । आफ्नै स्वास्थ्यका लागि समय निकाल्नै सकिँदैन ।”

परिवार नियोजन संघका प्रबन्धक तथा प्रमुख शोभाकान्त न्यौपानेका अनुसार ग्रामीण महिलामा देखिएको पाठेघर खस्ने समस्या केवल पोषणको अभावसँग मात्र जोडिएको छैन । सुत्केरी अवस्थामा पर्याप्त आराम नपाउनु र अत्यधिक शारीरिक श्रम गर्नु पनि यसको महत्वपूर्ण कारण हो ।

“सुत्केरी अवस्थामा पोषणयुक्त खाना आवश्यक हुन्छ, तर त्यत्तिकै महत्वपूर्ण कुरा आराम पनि हो,” उनले भनिन्, “सुत्केरी भएको केही दिनमै भारी काममा फर्किँदा महिलाको स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्छ ।”

परिवार नियोजन संघले स्थानीय तहसँगको समन्वयमा ग्रामीण क्षेत्रमा महिलाको स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताइन् । तर समाजमा अझै पनि पाठेघर खस्ने समस्यालाई लुकाउने प्रवृत्ति रहेकाले समस्या पहिचान र उपचारमा चुनौती रहेको उनको भनाइ छ ।

ग्रामीण बस्तीमा किशोरी अवस्थामै आमा बन्ने, पटक–पटक गर्भधारण वा गर्भपतन गर्ने, गर्भावस्थामा पर्याप्त आराम नगर्ने र सुत्केरी अवस्थामै खेतबारीको काममा फर्किने प्रवृत्तिले महिलाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । स्वास्थ्यकर्मीहरूका अनुसार समस्या लुकाएर राख्दा उपचारमा ढिलाइ हुनुका साथै सामान्य उपचारबाट समाधान हुन सक्ने अवस्था पनि जटिल बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?