Butwal Today

पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

४ आश्विन २०८३, आइतबार
अ+
अ-

पाल्पा ।

पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आइतबार दिउँसो करिब ३ बजेर ३० मिनेटमा बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा पारी गाडी चालक पूर्व खोला गाउँपालिका–१ का २९ वर्षीय नरबहादुर राना, पूर्व खोला–१ कै ५० वर्षीय कृष्णबहादुर राज मगर, पूर्व खोला–४ घर भई हाल तानसेन–४ भगवती टोल बस्ने २८ वर्षीय मनकुमारी सारू र उनकी ७ वर्षीय छोरी साहिरस सारू घाइते भएका छन् ।

यस्तै, पूर्व खोला गाउँपालिका–४ की ६३ वर्षीय अनसरा खाम्चा र उनकी ५ वर्षीय नातिनी सायरा खाम्चा घाइते भएका छन् । घाइतेमध्ये अनसरा खाम्चाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?