Butwal Today

भोटेकोसी बाढी : शोकमा डुबेको पातिहाल्नलाई आर्थिक सहयोग

४ आश्विन २०८३, आइतबार
अ+
अ-

रोल्पा ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–६, गजुलकोटस्थित पातिहाल्न टोलमा यतिबेला चाडपर्वको उल्लासभन्दा पीडाको वातावरण छ । गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी एउटै टोलका पाँच जना श्रमिक बेपत्ता भएपछि पातिहाल्न शोकमा डुबेको हो । लामो समय बितिसक्दा पनि बेपत्ता श्रमिकको अवस्था यकिन हुन नसक्दा उनीहरूका परिवारजन गहिरो पीडा, चिन्ता र अनिश्चिततामा दिन बिताउन बाध्य भएका छन् ।

बेपत्ता श्रमिकको खोजी भइरहेको भनिए पनि लामो समयसम्म कुनै निश्चित जानकारी प्राप्त हुन नसक्दा परिवारजनमा निराशा थपिँदै गएको छ । आफन्त फर्किएर आउने आशा र कुनै खबर प्राप्त हुने प्रतीक्षामै परिवारका दिन बितिरहेका छन् ।

पाँच जना श्रमिक एकै पटक बेपत्ता भएपछि त्यसको प्रत्यक्ष असर सिङ्गो पातिहाल्न टोलमा परेको छ । सामान्य अवस्थामा चाडपर्वको तयारी, भेटघाट र शुभकामनाले भरिने गाउँ अहिले शोक र मौनतामा छ ।

यस्तो दुःखद अवस्थामा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले पीडित परिवारको दुःखमा साथ दिँदै सहयोगको हात बढाउन थालेका छन् । विपत्तिमा परेका परिवारलाई आफूहरूबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ विभिन्न व्यक्तिहरूले सहयोग उपलब्ध गराउन थालेका हुन् ।

यस क्रममा वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका एकराज सुवेदीको नेतृत्वमा बसन्त थापा, शिवलाल केसीलगायतको टोलीले पीडित परिवारका लागि रु. ७० हजार सहयोग गरेको छ । रोजगारीका लागि विदेशमा रहे पनि आफ्नै गाउँका नागरिकमाथि परेको विपत्तिको खबरले आफूहरूलाई भावुक बनाएको र पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको सहयोगदाताहरूले बताएका छन् ।

त्यसै गरी नेपालमा रहेका सुलिचौरका खोपिलाल डाँगीले रु. २ हजार ५ सय तथा व्यापारी जालिम मियाले रु. २ हजार ५ सय सहयोग गरेका छन् । विदेशमा रहेका नेपालीबाट प्राप्त रु. ७० हजार र स्थानीय रूपमा सङ्कलन भएको रु. ५ हजार गरी जम्मा रु. ७५ हजार रकम पीडित परिवारलाई सहयोग स्वरूप हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग रकम खोपिलाल डाँगीमार्फत वडा अध्यक्ष लोकेन्द्रबहादुर थापाको उपस्थितिमा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा पीडित परिवारका सदस्य तथा स्थानीयको उपस्थिति रहेको थियो । दुःखको समयमा आफूहरूको पीडालाई सम्झेर विदेश तथा स्वदेशबाट सहयोग प्राप्त हुँदा परिवारजनले सहयोगदाताप्रति आभार व्यक्त गरेका छन् ।

सहयोग रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष लोकेन्द्रबहादुर थापाले विपत्तिको यस कठिन घडीमा पीडित परिवारलाई एक्लो महसुस हुन नदिने बताएका छन् । उनले बेपत्ता श्रमिकको खोजी, पीडित परिवारको राहत तथा आवश्यक सहयोगका विषयमा सम्बन्धित निकायसँग समन्वय गर्दै आएको बताए ।

वडा अध्यक्ष थापाले विपत्तिका कारण आफन्त गुमाउने अवस्थामा पुगेका वा लामो समयसम्म आफन्तको अवस्थाबारे अनिश्चिततामा रहेका परिवारलाई राज्यका सम्बन्धित निकायबाट आवश्यक सहयोग र जानकारी उपलब्ध गराउनुपर्ने बताए ।

यसैबिच, विदेशमा रहेका नेपालीले दुःखको समयमा आफ्नै गाउँका पीडित परिवारलाई सम्झिएर गरेको सहयोगले मानवीय एकताको उदाहरण प्रस्तुत गरेको स्थानीय बताउँछन् । रोजगारीका लागि देश बाहिर रहे पनि आफ्नो गाउँ र समुदायप्रतिको जिम्मेवारी नबिर्सिएको भन्दै स्थानीयले सहयोगदाताप्रति धन्यवाद व्यक्त गरेका छन् ।

पीडित परिवारलाई प्राप्त रु. ७५ हजारको सहयोग ठुलो आर्थिक समाधान नभए पनि दुःखको समयमा आफूहरूसँग समाज र समुदाय रहेको अनुभूति गराउने माध्यम बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?