Butwal Today

थारु समुदायले अट्टवारी पर्व मनाउँदै

४ आश्विन २०८३, आइतबार
अ+
अ-

चन्द्रौटा। पश्चिम तराईका थारु समुदायले आज विविध कार्यक्रम आयोजना गरी अट्टवारी पर्व मनाउँदै छन् । नयाँ बर्षको रुपमा माघ महिनामा मनाउने महान् माघी पर्व पछि यो दोस्रो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शनिबार राति साझाको खाना पछि आइतबार बिहान फरहार (पूजाअर्चना ) गरेर दिनभरि व्रत बस्ने र साँझपख सामान्य खाजा नास्ता खाई देउतालाई चढाइसकेपछि सोमबार बिहान मिठामिठा भिन्न(भिन्न परिकार पकाएर खाने गरिन्छ । खानाको केही अंश राख्ने पछि त्यसमा पुन थपेर चेली बिशेषगरी दिदिबहिनीलाई अग्रासनको रुपा दिन जाने थारु जातीको चलन छ ।

बुद्धभुमि नगरपालिकाका थारु अगुवा आशाराम थारुका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै मिठामिठा परिकार, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि अग्रासन दिदीबहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दूहरूको तिजजस्तै महत्त्वपूर्ण छ। हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको सौभाग्यका तथा सुस्वास्थ्य दीर्घायुको कामनाका लागि पानीसमेत नखाई व्रत बस्छन् । थारु समुदायमा यो पर्वको छुट्टै महत्त्व छ  उनले भने ।

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुटाइ अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको  शिवराज नगरपालिकाका अगुवा प्रकाश चौधरीले बताए । उनका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अट्टवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबिचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारु समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्‍याउने गरिन्छ ।

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्टवारी पर्व मनाउने प्रचलन छ । थारु समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारु संस्कृतविद् अशोक चौधरी बताउँछन् । अट्टवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ ।
दाङका थार राजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थार राजा दङीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो ।

पाँच पाण्डव र द्रोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दाङका थार राजा दङ्गीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारु समुदायले अट्वारी मनाउँदै आएका छन् ।

भीमजस्तै बलियो हुनका लागि पानीसमेत नखाई थारु समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।यसैबिच, लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बरका अट्वारी पर्वका अवसरमा गत भदौ २८ गते आइतबार सार्वजनिक बिदा दिएको थियो ।

यद्यपि कपिलवस्तु, रुपन्देही र नवलपरासीमा भने आज (आइतबार) मनाईदैँ छ । लुम्बिनी प्रदेशका थारु समुदायको बसोबास धेरै रहेका छ जिल्लामा सार्वजनिक बिदा दिएको हो । दाङदेखि कञ्चनपुरसम्मका थारु समुदायले भने गत आइतबार नै सो पर्व मनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?