Butwal Today

विद्यालय केन्द्रित एचपीभी खोप कार्यक्रम सुरु

२ आश्विन २०८३, शुक्रबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीमा विद्यालय केन्द्रित नियमित एचपीभी खोप कार्यक्रम सुरु भएको छ ।

कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालिका–२ स्थित सन्धिखर्क ग्रीन इङ्गलिस बोर्डिङ स्कुलमा विद्यालय केन्द्रित नियमित एचपीभी खोप कार्यक्रम शुभारम्भ गरिएको हो ।

जिल्ला खोप समन्वय समिति अर्घाखाँचीको आयोजना तथा सन्धिखर्क नगरपालिकाको समन्वयमा बिहीबार एक कार्यक्रमबिच खोप कार्यक्रमको शुभारम्भ गरिएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले एचपीभी खोप पाठेघरको मुखको क्यान्सरबाट जोगिनकालागि महत्त्वपूर्ण रहेको बताउँदै लक्षित समूहका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोख्रेलले एचपीभी खोप सुरक्षित र प्रभावकारी रहेको बताउँदै नियमित खोप कार्यक्रमलाई विद्यालय तहसम्म प्रभावकारी रूपमा पुर्याउन स्वास्थ्य कार्यालयले आवश्यक समन्वय गरिरहेको बताए । खोपसम्बन्धी सही सूचना अभिभावक तथा विद्यार्थीसमक्ष पुर्याउनुपर्ने उनको भनाइ थियो ।

“खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित हुन्छ, खोपले जीवन रक्षा गर्छ” भन्ने सन्देशसहित सञ्चालन हुने कार्यक्रमले विद्यार्थी, अभिभावक तथा समुदायमा एचपीभी खोपसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताए ।

एचपीभी खोप पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले प्रदान गरिने महत्त्वपूर्ण खोप हो । नेपाल सरकारको नियमित खोप कार्यक्रममा समेत एचपीभी खोपलाई समावेश गरिएको छ । जिल्लामा नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै विद्यालय तहसम्म खोपको पहुँच सुनिश्चित गर्ने प्रयास भइरहेको छ ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी केशव ज्ञवाली, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, जिल्ला खोप समन्वय समिति सदस्य नारायण पौडेल, उमा बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम जनस्वास्थ्य निरीक्षक प्रकाश परियारको सञ्चालनमा सम्पन्न भएको हो । विद्यालयमै केन्द्रित भएर नियमित एचपीभी खोप सेवा प्रभावकारी रूपमा सञ्चालन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

यसैबिच, आज सन्धिखर्क ग्रीन इङ्गलिस बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत ४५ जना छात्रालाई एचपीभी खोप लगाइएको जनाएको छ । विद्यालयबाटै खोप सेवा उपलब्ध गराउँदा लक्षित विद्यार्थीलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सहयोग पुग्ने आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?