© 2026
बुटवल । बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर बृहत्तर लुम्बिनी क्षेत्रको विकास, सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाउन अन्तर्राष्ट्रिय सम्मेलनले साझा कार्यदिशा तय गर्ने भएको छ ।
लुम्बिनीमा शुक्रबारदेखि सुरु हुने तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सम्पदा संरक्षणसँगै पर्यटक व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा विस्तार र स्थानीय समुदायले पर्यटनबाट लाभ पाउने व्यवस्था मिलाउने विषयमा छलफल हुने भएको हो ।
सम्मेलनबाट तयार हुने सुझावले विश्व बैङ्कको सहयोगमा सञ्चालनमा रहेको बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको कार्यान्वयनलाई समेत मार्गदर्शन गर्ने आयोजकले जनाएको छ ।
नेपाल सरकार, युनेस्को, लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय र विश्व बैङ्कको संयुक्त आयोजनामा हुने सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५० भन्दा बढी विज्ञ तथा प्रतिनिधि प्रत्यक्ष सहभागी हुनेछन् । त्यस्तै एक सयभन्दा बढीले अनलाइन माध्यमबाट सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
युनेस्कोकी संस्कृति क्षेत्र प्रमुख नभा बस्न्यात थापाका अनुसार सम्मेलनको मुख्य उद्देश्य बृहत्तर लुम्बिनी क्षेत्रको विकासलाई सम्पदा संरक्षणसँग सन्तुलित गर्दै स्थानीय समुदायको आर्थिक लाभसँग जोड्ने कार्य योजना तयार गर्नु हो । सम्मेलनमा विभिन्न मुलुकका ऐतिहासिक सम्पदा क्षेत्रको व्यवस्थापनका अनुभवसमेत आदानप्रदान गरिनेछ ।
उनले भनिन्, “सम्पदा संरक्षण, आगन्तुक व्यवस्थापन, दिगो पर्यटन र स्थानीय लाभ साझेदारीका विषयलाई तथ्यमा आधारित ढङ्गले अघि बढाउने गरी सम्मेलनबाट कार्यान्वयनयोग्य प्राथमिकता तय गरिनेछ ।”
बृहत्तर लुम्बिनी क्षेत्रमा लुम्बिनीबाहेक प्राचीन कपिलवस्तुसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्रामलगायतका महत्त्वपूर्ण पुरातात्त्विक तथा धार्मिक स्थल छन् । यी क्षेत्रलाई छुट्टाछुट्टै गन्तव्यका रूपमा भन्दा एउटै सम्पदा तथा पर्यटन क्षेत्रका रूपमा विकास गर्ने अवधारणाअनुसार सम्मेलन आयोजना गरिएको हो ।
विश्व बैङ्कका अनुसार बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाले पर्यटन पूर्वाधार र सेवा सुधारसँगै आगन्तुकको बसाइ अवधि र खर्च बढाउने, स्थानीय रोजगारी सिर्जना गर्ने तथा सम्पदामैत्री पर्यटन विकास गर्ने लक्ष्य राखेको छ । परियोजनाले लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलाई प्रमुख क्षेत्रका रूपमा समेटेको छ ।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले सम्मेलनबाट प्राप्त सुझावलाई बृहत्तर लुम्बिनी क्षेत्रको विकाससँग जोडेर कार्यान्वयनमा लैजाने बताए । उनका अनुसार सम्मेलनमा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधिसँगै बौद्ध धर्मगुरु, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार र स्थानीय समुदायका प्रतिनिधिको सहभागिता रहनेछ ।
सम्मेलनमा पूर्ण सत्र र प्राविधिक प्रस्तुतीकरणका साथै बृहत्तर लुम्बिनी क्षेत्रका महत्त्वपूर्ण स्थलको स्थलगत अवलोकनसमेत गरिनेछ । सम्मेलन असोज २ देखि ४ गतेसम्म लुम्बिनी बौद्ध विश्वविद्यालयमा सञ्चालन हुनेछ । सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री खड्गराज पौडेलले गर्ने कार्यक्रम रहेको छ ।
युनेस्कोले लुम्बिनीलाई सन् १९९७ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको हो । बृहत्तर लुम्बिनी क्षेत्रलाई जीवित धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्दै पर्यटन र स्थानीय विकाससँग जोड्ने विषयलाई सम्मेलनले प्राथमिकतामा राखेको छ ।