© 2026
चन्द्रौटा ।
चाडपर्व नजिकिँदै गर्दा राजमार्गमा सवारीको चाप बढ्न थालेको छ । दुर्घटना न्यूनीकरणका लागि प्रहरीले थालेको चेकजाँचमा भने सवारीको स्टेयरिङ सम्हालिरहेका चालक नै लागुऔषध सेवन गरेको अवस्थामा भेटिएका छन् ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिङ्गेमा बुधबार गरिएको लागुऔषध सेवन (लापसे) परीक्षणमा ४ जना चालक पक्राउ परेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले दिउँसो १ बजेदेखि करिब साँझ ५ बजेसम्म गरेको चेकजाँचमा शंका लागेका २३ जना चालकको युरिन एक्रो किटबाट परीक्षण गरिएको थियो । तीमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्घाखाँचीका २५ वर्षीय युवराज खनाल, प्युठानका ३८ वर्षीय संजय केसी, रुपन्देहीका २३ वर्षीय लिलबहादुर विक र दाङका ३५ वर्षीय कृष्णकुमार गुप्ता छन् । उनीहरू क्रमशः टिप्पर, ईभी जिप, टेलर र फोर्सका चालक हुन् । एक जना स्कुटर चालकसमेत मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेका थिए ।
लापसे पोजेटिभ देखिएका चालकको किट प्रमाणीकरणपछि थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन ढकालले नशामा सवारी चलाउँदा चालकसँगै यात्रु र सडकमा हिँड्ने सर्वसाधारणको ज्यानसमेत जोखिममा पर्ने बताए । चाडपर्व अवधिभर लापसे, मापसे र ट्राफिक नियम उल्लङ्घनविरुद्धको चेकजाँचलाई थप कडाइ गरिने समेत उनले जनाए ।