© २०२३
बुटवल, २३ माघ ।
ठेकेदारको मनोमानीले घोराही–तुलसीपुर उपमहानगर जोड्ने चार लेन सडक अलपत्र परेको छ । दुई वर्षमा निर्माण हुनुपर्ने जिल्लाको मुख्य सडक अलपत्र बनेपछि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । २०७६ असारबाट निर्माण सुरु भएको यस खण्डको अहिलेसम्म १० प्रतिशतमात्र काम भएको छ । सम्झौताअनुसार २०७८ बैशाखमा यसको निर्माण पूरा भइसक्नुपर्ने हो ।
सडक निर्माणका लागि निकासा भएको रकम खर्च हुन सकेको छैन । घोराही–तुलसीपुर चारलेनको काम वि.सं २०७५ माघदेखि सुरु भएको हो । ३० महिनामा काम सक्ने गरी सम्झौता भयो । तर, अहिलेसम्म पनि त्यो काम पूरा नहुँदा यात्रुहरुलाई मात्रै नभई वरपरका बासिन्दाहरुलाई पनि समस्या हुने गरेको छ । उक्त सडकमा अहिलेसम्म ७ पेटी ठेकेदार फेरिएका छन् । चौथो पटक म्याद थप भइसकेको छ ।
२०७८ जेठ ६ गते भित्र काम सक्नु पर्ने भएपनि त्यसो हुन सकेन । काम सक्ने त टाढाको कुरा ६ प्रतिशत भन्दा बढी प्रगति हुन सकेन । त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक, २०७८ पुस २८ गते सक्ने गरी दोस्रो पटक म्याद थप भयो ।
तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ बैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशत भन्दा बढी काम हुन सकेन् । अहिल खरिद ऐनको १२ औं संशोधनले चौथो पटकका लागि वि.सं २०८० असारसम्म स्वतः म्याद थप गरेको छ ।
सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए । त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाए । त्यसपछि पुनः अनुप पाण्डे आए । उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए ।
उनीहरुबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजंग रायमाझी आएका हुन् । पटक पटक म्याद थप हुने तर, काम नसकिदा नागरिक स्तरबाट पनि विरोध हुने गरेको छ । केही दिन अघि मात्रै सामाजिक अभियन्ताहरुको पहलमा चारलेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो ।
चारलेन सडक भ्याट सहित १ करोड २१ लाख ८२ हजार तीन सय १ रुपैयाँ अमेरिकी डलर अर्थात १ अर्ब २३ करोड नेपाली रुपैयाँमा निर्माण हुन लागेको हो । भारतीय तथ्य इन्जिनियरिङले ठेक्का लिएको हो । तर, उसले बिभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने तर, समयमा काम नगर्ने अवस्था हुँदा नागरिकले निकै सास्ती खेप्नु परेको छ ।
कूल रकमको १० प्रतिशतसम्म जरिवाना हुने व्यवस्था अनुसार ठेकेदार कम्पनीलाई जरिवाना गरिएको हो । यसको मुख्य ठेकेदार भारतीय तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट रहेको छ ।