© 2026
नवलपरासी ।
पश्चिम नवलपरासीको सुनवल–१३, सूर्यबस्तीस्थित ४०० केभी न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले शिलान्यासको नौ महिनामै सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरेको हो ।
सूर्यबस्तीमा निर्माणाधीन सबस्टेसनदेखि भारतको सीमासम्मको १८ किलोमिटर खण्डमा ५३ वटा टावर निर्माण सम्पन्न भएको एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए ।
प्रसारण लाइन निर्माण सम्पन्न भएको अवसरमा आइतबार सुनवलको सूर्यबस्तीमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा। घनश्याम उपाध्यायले नेपाल, संयुक्त राज्य अमेरिका र एमसीसीबीचको साझेदारीले ऊर्जा क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको बताए ।
एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा यो महत्त्वपूर्ण उपलब्धि भएको बताइन् । साझा लक्ष्य प्राप्तिका लागि एकजुट भएर काम गर्दा कस्तो परिणाम हासिल गर्न सकिन्छ भन्ने यसले देखाएको उनको भनाइ थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले नेपालले विद्युतीय पूर्वाधार सुदृढ गर्न र सीमा पार विद्युत् सम्पर्क विस्तार गर्न गरेको प्रयास प्रसारण लाइन समयमै निर्माण सम्पन्न हुनुले पुष्टि गरेको बताए ।
नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्रसारण लाइनमार्फत नेपाल र भारतबीचको विद्युत् सञ्जाल सुदृढ भई प्राप्त हुने बृहत् लाभ हासिल गर्न नेपाल थप सक्षम बन्दै गएको बताए ।
नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन खण्ड पूरा भएसँगै सीमा पार प्रसारण लाइनअन्तर्गत एमसीए–नेपालबाट हुनुपर्ने निर्माण कार्य सम्पन्न भएको छ । अब प्रसारण लाइनमा विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याउनुअघि नेपाल–भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक कार्य तथा स्वीकृति प्राप्तिलगायत बाँकी काम अगाडि बढाइनेछ ।
गत वर्षको मङ्सिरमा तत्कालीन अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइनको शिलान्यास गरेका थिए ।
उक्त प्रसारण लाइन निर्माणका लागि हालसम्म झन्डै एक अर्ब २४ करोड रुपैयाँ बराबरको मुआब्जा वितरण गरिएको छ । अझै केही जग्गाको मुआब्जा वितरण प्रक्रिया बाँकी रहेको एमसीए–नेपालले जनाएको छ ।
एमसीसी परियोजनाअन्तर्गत ३१५ किलोमिटर लामो उच्च भोल्टेज प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माणका साथै विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक सहयोग प्रदान गर्ने कार्य भइरहेका छन् । अहिले पहिलो खण्डका रूपमा अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।