Butwal Today

सल्यानमा बोलेरो दुर्घटना : मृतकको संख्या ३ पुग्यो, थप ३ जनाको उपचार हुँदै

२७ भाद्र २०८३, शनिबार
अ+
अ-

सल्यान ।

सल्यानमा शनिबार बिहान बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ सिम्कमा भएको दुर्घटनामा गम्भीर घाइते ५० वर्षीय डिल्ली बहादुर वलीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो । उनको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

यस अघि दुर्घटनामा घाइते ८ वर्षीय रेशम बुढाथोकी र १८ वर्षीया बिपना बुढाथोकीको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सिम्कबाट गाउँपालिकाको केन्द्र लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२००१ ज ०००५ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् । त्रिवेणी गाउँपालिका, ५ सिम्खका २४ वर्षीय चालक भुपाल पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको छ ।

सोही ठाउँका २९ वर्षीय पारस बोहरा र त्रिवेणी गाउँपालिका, ६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी पनि घाइते भएका छन् । बोहराको अवस्था मध्यम रहेको छ भने बुढाथोकीको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?