Butwal Today

होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा

२४ भाद्र २०८३, बुधबार
अ+
अ-

तेहरान ।

इरान र संयुक्त राज्य अमेरिकाबीच हर्मुज जलघाँटीलाई लिएर सैन्य तनाव चर्किएपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम बढेको छ । इरानले आफ्ना तेल ट्याङ्करमाथि अमेरिकी आक्रमणको जवाफमा अमेरिकी सैन्य तथा सहयोगी राष्ट्रका लक्ष्यमा नयाँ आक्रमण थालेको हो ।

इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स (आइआरजिसी) ले बुधबार हर्मुज जलघाँटी पार गर्न खोजिरहेका २० अमेरिकी जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौँ हिस्सा ओसारपसार हुने उक्त जलमार्गमा इरानले युद्ध सुरु भएदेखि कडाइ गर्दै आएको छ । जलघाँटी प्रयोग गर्न अनुमति लिनुपर्ने र पारवहन शुल्क तिर्नुपर्ने व्यवस्थाका कारण अन्तर्राष्ट्रिय व्यापार तथा ऊर्जा आपूर्ति प्रभावित भएको बताइएको छ ।

अमेरिकी सेनाले एक दिनअघि पाँचवटा इरानी तेल ट्याङ्कर नष्ट गरेपछि इरानले जवाफी कारबाही गरेको आइआरजिसीले जनाएको छ । गार्डका अनुसार जोर्डनस्थित अल–अजराक अमेरिकी हवाई अड्डामा पनि क्षेप्यास्त्र प्रहार गरिएको छ । जोर्डनको सेनाले भने इरानबाट प्रहार गरिएका १८ वटा क्षेप्यास्त्र खसालेको जनाएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण वा आक्रमणको प्रयास जारी राखे हरेकपटक उसका तेल ट्याङ्कर नष्ट गरिने चेतावनी दिएका छन् । इरानले पनि आफ्ना ट्याङ्करमाथि आक्रमण भए अमेरिकी सहयोगी कुवेत र बहराइनमा रहेका तेल ट्याङ्करलाई निशाना बनाउने चेतावनी दिएको छ ।

बढ्दो तनावसँगै एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९९.४६ अमेरिकी डलर तथा वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटिआई) को मूल्य ९४.४५ डलर पुगेको छ । मध्यपूर्वबाट तेल आपूर्ति अवरुद्ध हुनसक्ने आशङ्काले मूल्य बढेको हो ।

यसैबीच, इरानी गार्डले हर्मुजमा अमेरिकी मानवरहित पनडुब्बी ड्रोन नियन्त्रणमा लिएको दाबी गरेको छ । अमेरिकी सेनाले भने उक्त ड्रोन पुरानो मोडेलको र संवेदनशील सूचना नभएको जनाएको छ । इरानी सरकारी टेलिभिजनले दुई अमेरिकी विध्वंसक पानीजहाजमाथि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरे पनि अमेरिकी सेनाले त्यसबारे तत्काल प्रतिक्रिया जनाएको छैन ।

हर्मुजमा जारी गतिरोधले इरान–अमेरिका सैन्य द्वन्द्व थप गहिरिनुका साथै विश्वव्यापी ऊर्जा आपूर्ति र व्यापारमा समेत गम्भीर असर पर्नसक्ने चिन्ता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?