Butwal Today

प्रतिनिधिसभाः ‘जेनजी आन्दोलनको मर्म र भावनाअनुरुप चल्नुपर्छ’

२४ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले गत वर्षको जेनजी आन्दोलन सरकार परिवर्तनका लागि नभई सुशासन र विधिको शासन स्थापितका लागि भएकाले आन्दोलनको मर्म र भावनाअनुरुप सरकार र राजनीति दलले काम गर्नुपर्ने बताएका छन् ।

सभाको आकस्मिक समयमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका९रास्वपा०का सांसद पुरूषोत्तम शुप्रभात यादवले जेनजी आन्दोलनको माग र भावनाबमोजिम सरकारले काम गर्नुपर्ने बताए ।

उनले जेनजी आन्दोलनकारीलाई नै पक्राउ र थुनामा राख्ने कार्य भएको जनाउँदै त्यस्ता कार्य सच्याउन माग गरे । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि नभई शैली परिवर्तनसहित सुशासन र विधि कायमका लागि भएकाले सबैले त्यसअनुसार काम गर्नुपर्ने बताए ।

उनले बजारमा उपभोग्य वस्तुको अभावकाबीच विपत्तिको सामनाका लागि सबै एक भएर लाग्नुपर्ने अवस्था रहेको जनाउँदै नुवाकोट, रसुवा र धादिङको सडक सञ्जालको पुनःस्थापनामा विशेष ध्यान सरकारको ध्यानाकर्षण गराए ।

सोही पार्टीका सांसद बासना थापाले रसुवा बाढीको दुई साता बितिसक्दा पनि अझै सयौँ बेपत्ता भएका नागरिकको प्रभावकारी खोजी हुन नसक्दा सम्बन्धित परिवारले पीडाको सामना गरिरहनुपरेको भनी सरकारको ध्यानाकर्षण गराइन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद क्रान्तिशीखा धितालले बाढी पीडित क्षेत्रमा महामारीको जोखिम बढेको तथा होल्डिङ सेन्टरमा महिला र बालबालिकाको सुरक्षा थप चुनौतीपूर्ण रहेको बताइन ।

नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले हालैको अविरल वर्षाले दार्चुलालगायत क्षेत्रमा बस्ती प्रभावित भएको जानकारी गराउँदै विपद्पूर्व सूचना प्रणाली र महाकालीमा तटबन्ध निर्माणमा ध्यान दिन आग्रह गरे ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पार्वती विकले जेनजी आन्दोलनले बोकेको परिवर्तनको सङ्कल्पलाई सरकारले केकति पूरा गर्न सकेको वा नसकेकोबारे समीक्षा गर्न आवश्यक रहेको बताइन ।

कांग्रेसका सांसद सीता थपलियाले बाढी प्रभावित क्षेत्रमा बेलीब्रिज निर्माण गरी सडक सम्पर्क पुनःस्थाना गर्न माग गरिन । कांग्रेसकै सांसद खड्गबहादुर शाहीले मुगुको छायाँनाथ नगरपालिकाको घट्टेखोलाको बाढीका कारण स्थानीयवासीलाई परेको असुविधाबारे सदनलाई जानकारी गराए ।

एमालेका सांसद डा अर्जुनकुमार कार्कीले सम्भावित जोखिमयुक्त हिमतालको अध्ययन गरी त्यसबारे प्रभावित क्षेत्रका नागरिकलाई सचेतना दिलाउन आवश्यक रहेको बताए ।

रास्वपाका सांसद यज्ञमणि न्यौपानेले शक्ति राष्ट्रले अन्तरराष्ट्रिय कानुनको पालना नगरेका कारण नेपालले जलवायु परिवर्तनको मार खेपिरहेको जनाउँदै जेनजी आन्दोलनमा सहभागी व्यक्ति आज कारागार र अदालत धाउनुपर्ने अवस्था अन्त्य गरिनु पर्ने धारणा व्यक्त गरे । सभाको बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?