Butwal Today

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द

२४ भाद्र २०८३, बुधबार
अ+
अ-

लन्डन । बेलायतको हवाई यातायात सेवामा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान रद्द भएका छन् ।

बेलायतको राष्ट्रिय हवाई यातायात सेवा संस्थाले मंगलबार दिउँसो आफ्नो उडान व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या देखिएको जानकारी दिएको थियो । समस्याका कारण देशभरका विमानस्थलबाट हुने उडान प्रभावित हुँदा ठूलो संख्यामा उडान ढिला भएका तथा रद्द गरिएका थिए ।

प्राविधिक समस्याको प्रभाव बेलायतका प्रमुख विमानस्थलहरूमा समेत परेको थियो । लन्डनको हिथ्रो विमानस्थल, एडिनबर्ग विमानस्थल र म्यानचेस्टर विमानस्थललगायतमा उडान सञ्चालन प्रभावित भएको उडान अनुगमनसम्बन्धी तथ्यांकले देखाएको छ ।

स्थानीय सञ्चारमाध्यमले उडान अनुगमनसम्बन्धी तथ्यांक विश्लेषण गर्दै मंगलबार रातिसम्म बेलायतका विभिन्न विमानस्थलबाट एक हजारभन्दा बढी उडान रद्द भएको जनाएका छन् ।

राष्ट्रिय हवाई यातायात सेवा संस्थाले प्राविधिक समस्या समाधान गर्न आवश्यक सुधार लागू गरिसकेको जनाएको छ । यद्यपि, प्रभावित उडानहरूको चाप व्यवस्थापन गर्न अपेक्षाभन्दा बढी समय लागेको बताइएको छ ।

संस्थाले एक विज्ञप्तिमार्फत प्रणालीमा देखिएको समस्या पूर्ण रूपमा समाधान भइसकेको र हवाई सेवा सामान्य अवस्थामा फर्किएको जनाएको छ ।

साथै, रद्द तथा ढिला भएका उडानका कारण सिर्जना भएको बाँकी चाप हटाउन आफूहरूले अधिकतम प्रयास गरिरहेको संस्थाले जनाएको छ ।

प्राविधिक समस्याका कारण हजारौँ यात्रु प्रभावित भएका छन् भने विमानस्थलहरूमा यात्रुको भीड र उडान पुनःतालिकीकरणको चाप बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?