© 2026
चन्द्रौटा ।
रसुवामा आएको बाढीले धेरै परिवारको घर, अन्न र दैनिक जीवनमा चोट पु¥यायो । विपत्तिमा परेकाहरूका लागि देशभरबाट सहयोग जुटिरहेका बेला कपिलवस्तुका थारु समुदाय पनि राहत अभियानमा जोडिएको छ । यति बेला थारु अगुवाहरू गाउँ गाउँ पुगेर राहत सङ्कलन गरिरहेका छन् ।
यस क्रममा बाणगंगा नगरपालिकाका विभिन्न गाउँबाट एक सय क्विन्टल चामल, ५ क्विन्टल बढी दाल सङ्कलन भएको थारु कल्याणकारिणी सभा बाणगंगा नगर समितिले जनाएको छ । थाकसा जिल्ला समितिको पहल, थाकसा नगर समिति र बाणगंगा बरघर नगर समितिको संयुक्त सक्रियतामा राहत सङ्कलन गरिएको जिल्ला सभापति पवन कुमार थारुले बताए । सङ्कलन गरिएका राहत खाद्यान्न सामग्री व्यवस्थापन गरी सम्बन्धित स्थानमा पठाउने तयारी भइरहेको उनले बताए ।
सभापति थारुका अनुसार बुद्धभुमि नगरपालिका, शिवराज नगरपालिकामा समेत राहत सङ्कलन कार्य भइरहेको उनको भनाइ छ । थाकसाका टोलीहरू स्थानीय समुदायसँग समन्वय गर्दै सहयोग जुटाउन सक्रिय छन् । खाद्यान्न मात्र नभएर आर्थिकलगायत दैनिक उपभोग्यवस्तुहरु समेत सङ्कलन गरी पीडित परिवारमा मलहम लगाउने कार्यमा थारु समुदाय ऐक्यबद्ध भएको उनले जनाए ।