Butwal Today

विपद्पछिको मानसिक समस्या र जोगिने उपाय

२२ भाद्र २०८३, सोमबार
अ+
अ-

प्राकृतिक विपद्जस्तै बाढी, पहिरो, भूकम्प, अतिवृष्टि वा आँधीबेहरी आदीले जनधनको क्षति मात्र गर्दैन, यसले मानिसको सोच्ने र अनुभव गर्ने क्षमतामा समेत गहिरो असर पार्छ । साथै यसले मानिसको मानसिक तथा भावनात्मक रूपमा समेत असर पार्दछ ।

विपद् परेका बेला भौतिक पुनर्निर्माण र शारीरिक उपचारमा सबैको ध्यान तुरुन्तै जान्छ तर मानिसको मनभित्र परेको गहिरो चोट र मानसिक असरलाई प्रायः ओझेलमा पारिन्छ । विपद्को असर भौतिक सम्पत्ति र संरचनामा मात्र सीमित नरही व्यक्ति, परिवार र सम्पूर्ण समुदायको मानसिक स्वास्थ्यमा दीर्घकालीन रूपमा रहन सक्छ ।

त्यसैले प्राकृतिक विपद् पश्चात् देखा पर्ने मानसिक समस्याहरूलाई पहिचान गरी त्यसबाट जोगिनु र समयमै व्यवस्थापन गर्नु अत्यन्तै आवश्यक हुन्छ । विपद् पश्चात् देखिने मुख्य मानसिक स्वास्थ्य समस्याहरू विपद्को सामना गरेपछि वा आफ्ना आफन्त र सम्पत्ति गुमाएपछि मानिसमा विभिन्न प्रकारका मानसिक तथा भावनात्मक प्रतिक्रियाहरू देखिन सक्छन् । यी समस्याहरू अल्पकालीनदेखि दीर्घकालीनसम्म हुन सक्छन् ।

तीव्र तनाव र आघात: विपद् लगत्तै व्यक्ति स्तब्ध हुने, केही सोच्न नसक्ने, टोल्हाउने वा चेतना शून्य जस्तै हुने अवस्था आउन सक्छ । यसलाई घटनाको तत्काल प्रतिक्रियाका रूपमा लिइन्छ । विपदपश्चातको मानसिक आघात: विपद् सकिएपछि पनि सोही डरलाग्दो घटनाका दृश्य वा सम्झनाहरू बारम्बार मनमा आउनु डराउनु र विपद् सम्झाउने ठाउँ वा कुराहरूबाट भाग्न खोज्नु यसका प्रमुख लक्षण हुन् ।

अत्यधिक चिन्ता र डरः भविष्यप्रतिको अनिश्चितता, फेरि उस्तै विपद् दोहोरिने डर र सुरक्षाको अनुभूति नहुनुले मानिसमा मुटुको धडकन बढ्ने, पसिना आउने र अत्यधिक घबराहट हुने जस्ता चिन्ताजन्य समस्याहरू देखिन्छन् ।

निराशा र उदासिनताः धनजनको क्षति, आफन्तको वियोग वा आवास र रोजगारी गुमेपछि उत्पन्न हुने निराशाले मानिसलाई डिप्रेसनतर्फ लैजान सक्छ । यसले गर्दा जीवनप्रति वितृष्णा जाग्ने र केही काम गर्न मन नलाग्ने हुन्छ ।

निद्रा सम्बन्धी समस्याः नराम्रो सपना देख्ने, राती झस्केर ब्युँझिने वा रातभर निद्रा नपर्ने समस्या विपद् पश्चात् सामान्य रूपमा देखिन्छ ।

व्यवहारिक र शारीरिक परिवर्तनः बालबालिकाहरूमा धेरै रुने, आमा बुबालाई छाड्नै नमान्ने र ठूला मानिसहरूमा टोल्हाउने, छिटो रिसाउने वा तनाव कम गर्न मद्यपान तथा लागू पदार्थको सहारा लिने जस्ता नकारात्मक व्यवहारहरू देखिन सक्छन् ।

जोगिने उपायहरूः प्राकृतिक विपदबाट उत्पन्न मानसिक आघातलाई सही समयमा व्यवस्थापन गर्न सकियो भने गम्भीर मानसिक रोगहरूबाट बच्न सकिन्छ । मानसिक रूपमा पुनः सबल बन्नका लागि व्यक्तिगत, पारिवारिक र सामुदायिक स्तरमा निम्न उपायहरू अपनाउनुपर्छ । कुनैपनि प्राकृतिक बिपदपछि उक्त स्थानमा उद्धार सहयोग र समस्याको समाधान गर्न मुख्यगरेर तिनवटा कुरालाई बिशेष ध्यान दिएर अगाडि बढ्नुपर्दछ ।

१– हेर्ने, २– सुन्ने र ३– सहकार्यमा जोडिने । यही सिद्धान्तमा आधारित भएर प्रभावित क्षेत्रमा लागियो भने मानसिक स्वास्थ्यको थप जटिलताबाट जोगाउन सकिन्छ । संगसंगै प्रभावित ब्यक्तिलाई निम्न कुरामा अग्रसरता गराउनु पर्दछ ।

आफ्ना भावनाहरू व्यक्त गर्न लगाउने । मनमा गुम्सिएर रहेका डर, चिन्ता वा शोकलाई रोकेर राख्नुको सट्टा आफ्ना नजिकका साथीभाई वा परिवारका सदस्यहरूसँग भन्नुपर्छ । कुराकानी गर्दा मनको भार हलुका हुन्छ । नियमित र स्वस्थ दिनचर्यामा फर्किने । विपदपछि जति सक्दो छिटो आफ्नो दैनिक जीवनलाई सामान्य बनाउने प्रयास गर्नुपर्छ । पर्याप्त निद्रा, सन्तुलित आहार र पर्याप्त पानीको सेवनले शारीरिक र मानसिक दुवै स्वास्थ्यलाई मजबुत बनाउँछ ।

सकारात्मक सोच र ध्यान गर्ने, दैनिक केही समय योग, प्राणायाम, वा गहिरो सास फेर्ने अभ्यास गर्नाले मस्तिष्कलाई शान्त राख्न र तनाव घटाउन मद्दत पुग्छ ।

पुष्टि नभएका खबर र अफवाहबाट टाढा रहने । विपदका बेला सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा आउने डरलाग्दा वा गलत समाचारले चिन्ता अझ बढाउँछ । त्यसैले आधिकारिक र आधिकारिक स्रोतबाट मात्र जानकारी लिनुपर्छ ।

मनोवैज्ञानिक प्राथमिक उपचार । विपद् प्रभावितहरूलाई तत्काल भौतिक सहायतासँगै भावनात्मक सहयोगको खाँचो हुन्छ । प्रभावित व्यक्तिहरूलाई ध्यानपूर्वक सुनिदिने, सहानुभूति देखाउने र उनीहरू सुरक्षित छन् भन्ने विश्वास दिलाउने काम समुदायले गर्नुपर्छ ।

बालबालिका महिला र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्छ । बालबालिका र वृद्धवृद्धा विपदबाट बढी प्रभावित हुन्छन् । बालबालिकालाई खेलकुद र चित्रकला जस्ता रचनात्मक गतिविधिमा व्यस्त राख्नुपर्छ भने ज्येष्ठ नागरिकसँग निरन्तर कुराकानी गरी उनीहरूको मनोबल बढाउनुपर्छ ।

पारस्परिक सहयोग र सामाजिक सम्बन्ध गहिरो बनाउनु पर्छ । छिमेकी र समुदायका मानिसहरू एकापसमा मिलेर काम गर्दा एकाँकीपन र डरको भावना हट्छ । सामाजिक पुनःस्थापनाका काममा सबै मिलेर लाग्दा समुदायमा आशाको किरण जाग्छ ।
मनोपरामर्शः यदि तनाव वा चिन्ता २–३ हप्ताभन्दा बढी समयसम्म रहिरह्यो र दैनिक काममा बाधा पु¥याउन थाल्यो भने दक्ष मनोविमर्शकर्ता वा मनोविद्सँग परामर्श लिनुपर्छ ।

चिकित्सकीय उपचारः डिप्रेसन वा अत्यधिक दिर्घकालीन असरको अवस्थामा चिकित्सक वा मनोरोग विशेषज्ञको सल्लाह अनुसार औषधि वा थेरापीको सहयोग लिनु आवश्यक हुन्छ ।

प्राकृतिक विपदलाई रोक्न नसकिएपनि यसले पार्ने मानसिक असरलाई भने सही ज्ञान, सजगता र सहयोगमार्फत न्यून गर्न सकिन्छ । मनको चोट देखिँदैन तर यसको असर गहिरो हुन्छ । त्यसैले विपद् व्यवस्थापन गर्दा केवल राहत सामग्री र आवास निर्माणमा मात्र ध्यान नदिई विपद् प्रभावितहरूको मानसिक स्वास्थ्य पुनःस्थापनालाई पनि प्राथमिकतामा राख्नुपर्छ ।

शारीरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्य पनि महत्वपूर्ण छ भन्ने कुरा बुझेर एक–अर्कालाई भावनात्मक साथ दिनु नै विपद् पश्चातको पुनर्निर्माणको पहिलो र महत्वपूर्ण पक्ष हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?