Butwal Today

भदौ मसान्तभित्रै बजेट ल्याउँछौँं : मुख्यमन्त्री भट्ट

२२ भाद्र २०८३, सोमबार
अ+
अ-

सुदूरपश्चिम ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको औचित्य र उपादयता सिद्ध गर्ने गरी भदौभित्रै चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याइने बताएका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दलको न्यूनतम साझा कार्यक्रमको मर्मअनुसार जनतामा सकारात्मक सन्देश प्रवाह हुने गरी बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री भट्टले विगतको सरकारले ल्याएको बजेटमा उत्पन्न मत भिन्नताका कारण अप्रत्याशित रुपमा नयाँ सरकार बनेकाले बजेट निर्माणको परम्परागत प्रवृत्तिलाई ‘ब्रेक’ गर्ने गरी काम भइरहेको बताए ।

“गठबन्धनले बजेट, नीति तथा कार्यक्रमका अन्तरवस्तु टुङ्ग्याएको छ । अब त्यसै आधारमा अरु काम द्रुत गतिमा आगाडि बढ्छन्”, उनले भने, “विगतका कमजोरी, प्रतिपक्षमा हुँदा उठाउँदै आएका सवाल, प्रदेश सरकारमाथि लाग्दै आएका आरोपलाई पनि ख्याल गर्दै ‘क्रमभङ्गता’ हुने गरी बजेट ल्याउँछौँ ।”

सत्तासाझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दुई दलले तय गरेका न्यूनतम साझा कार्यक्रममा टेकेर समृद्ध प्रदेश निर्माणमा योगदान पुग्नेगरी बजेट ल्याइने बताए । उनले प्रदेशमा रहेका सम्भावना, चुनौती र बजेटको सीमिततालाई ख्याल गरी जनताले अनुभूत गर्ने, खर्च क्षमता बढाउने र योजनाको गुणस्तर कायम हुने गरी बजेट निर्माण गरिने बताए ।

आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले न्यूनतम साझा कार्यक्रम तय भएकाले अब बजेट निर्माण मापदण्ड र विगतका अभ्यासलाई टेकेर द्रुत गतिमा काम हुने बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमनबहादुर भण्डारीले बजेट निर्माणका क्रममा हुने कमजोरी र विचौलिया हाबी हुने अवस्था अन्त्यका लागि आफू प्रतिबद्ध रहेको बताए ।

सुदूरपश्चिम प्रदेशमा ‘बजेट होलिडे’ को अवस्था रहेको छ ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा पेस गरे पनि गठबन्धन दलमा आएको बेमेलका कारण पारित हुनसकेन । उक्त सरकार विघटनपछि एमालेको समर्थनमा गत साउन २९ गते नेकपा प्रदेशसभा संसदीय दलका नेता भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।

पत्रकार सम्मेलनमा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम चौधरीलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?