Butwal Today

रोटरी बुटवल चौतारीद्वारा विद्यार्थीलाई छात्रवृत्ति, विद्यालयलाई खानेपानी

२२ भाद्र २०८३, सोमबार
अ+
अ-

बुटवल ।

रोटरी क्लब अफ बुटवल चौतारीले रुपन्देहीको शुद्धोधन गाउँपालिका–३, बेतहीस्थित शङ्कर माध्यमिक विद्यालयका दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै विद्यालयलाई स्वच्छ खानेपानी प्रणाली हस्तान्तरण गरेको छ ।

क्लबको विद्यालयसँग सहकार्य कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा कक्षा ९ मा अध्ययनरत एन्जेल चापागाईं र कक्षा ८ का प्रशान्त खनाललाई शैक्षिक सत्र २०८३ का लागि कुल ३६ हजार ८०० रुपियाँ छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्तिसँगै दुवै विद्यार्थीलाई कापी, कलम, झोला लगायतका शैक्षिक सामग्रीसमेत उपलब्ध गराइएको क्लबले जनाएको छ ।

विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब दुई लाख रुपियाँ मूल्य बराबरको पानी छान्ने यन्त्र र पानी चिस्याउने यन्त्रसहितको खानेपानी प्रणालीसमेत हस्तान्तरण गरिएको छ । उक्त प्रणालीबाट विद्यालयमा स्वच्छ तथा चिसो खानेपानीको सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

कार्यक्रमका लागि पथिक फाउन्डेसन रुपन्देहीले ५१ हजार रुपियाँ सहयोग गरेको थियो । फाउन्डेसनले क्लबका अन्य सामाजिक तथा सेवामूलक गतिविधिमा समेत सहयोग गर्दै आएको क्लबले जनाएको छ ।

कार्यक्रममा रोटरी क्लबका जिम्मेवार पदाधिकारी ओम जैसीले विद्यार्थीलाई छात्रवृत्ति र विद्यालयलाई खानेपानी प्रणाली उपलब्ध गराउने कार्यको प्रशंसा गर्दै यस्ता सेवामूलक गतिविधिले शैक्षिक वातावरण सुधारमा सहयोग पुग्ने बताए ।

क्लबका अध्यक्ष वासुदेव भुसालले शिक्षा, स्वास्थ्य, खानेपानी लगायत समुदायका आवश्यकताका आधारमा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टङ्कप्रसाद पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने क्लबका संस्थापक अध्यक्ष डा। विष्णु घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सचिव तथा कार्यक्रम संयोजक माधव पौडेलले क्लबले यस्ता सामाजिक र रचनात्मक कार्यक्रमहरू निरन्तर गर्दै जाने बताए । कार्यक्रममा फाउन्डेसनका प्रशिक्षक धना पौडेल, अक्षयकोषदाता, शिक्षक, विद्यार्थी तथा अन्य गरी करिब दुई सय जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?