© 2026
जेनेभा ।
विश्व मौसम संगठनले डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको जनाएको छ । संगठनले सार्वजनिक गरेको वार्षिक ‘वायु गुणस्तर तथा जलवायु बुलेटिन’ मा वायु प्रदूषण र जलवायु परिवर्तनबीच गहिरो सम्बन्ध रहेको उल्लेख गरिएको छ । जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी तथा डढेलोको आवृत्ति र तीव्रता बढ्दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको छ ।
डढेलोबाट निस्कने धुवाँमा २.५ माइक्रोमिटरभन्दा साना सूक्ष्म कण हुन्छन् । यस्ता कण फोक्सोको गहिराइसम्म पुग्नुका साथै रक्तसञ्चार प्रणालीमा समेत प्रवेश गर्न सक्ने भएकाले स्वास्थ्यका लागि अत्यन्त जोखिमपूर्ण मानिन्छन् । डढेलोको धुवाँ हावासँगै टाढासम्म फैलिने भएकाले आगलागी भएको स्थानभन्दा धेरै टाढाका मानिस र वन्यजन्तु पनि प्रभावित हुन सक्छन् । अध्ययनअनुसार सन् १९९० को दशकयता अत्यधिक डढेलोबाट उत्पन्न धुवाँका घटना तीन गुणासम्म बढेका छन् ।
त्यस्तै, अत्यधिक गर्मीका समयमा सतह नजिकको ओजोन प्रदूषण पनि बढ्न सक्छ । यसले विशेषगरी श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउँछ । कालो कार्बन र सूक्ष्म प्लास्टिक पनि वातावरणका बढ्दो चुनौती बनेका छन् । कालो कार्बन हिउँ तथा बरफमा जम्मा हुँदा पग्लिने प्रक्रिया तीव्र बनाउन सक्छ भने सूक्ष्म प्लास्टिक हावा, माटो र समुद्रमा फैलिँदै गएको छ ।
विश्व मौसम संगठनले वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तन न्यूनीकरणलाई अलग–अलग नभई समन्वित रूपमा सम्बोधन गर्न दीर्घकालीन नीति आवश्यक रहेकोमा जोड दिएको छ ।