Butwal Today

चाडपर्वमा रक्तदान कार्यक्रम घटेपछि रुपन्देही रेडक्रसको विशेष अपिल : ‘रक्तदान गरौँ, जीवन बचाऔँ’

६ कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

सिद्धार्थनगर । 

ठुला चाडपर्वको समय सुरु भएसँगै नियमित रक्तदान कार्यक्रमहरू घट्न थालेपछि नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले स्व स्फूर्त रूपमा रक्तदान गर्न सर्वसाधारणमा विशेष आग्रह गरेको छ ।

स्वास्थ्य उपचारका क्रममा रगतको माग पछिल्लो समय निरन्तर बढिरहेको भए पनि चाडपर्वका कारण रक्तदान कार्यक्रमहरू कम हुँदा रक्त सञ्चार केन्द्रहरूमा आवश्यक रगत व्यवस्थापनमा चुनौती आउन सक्ने भन्दै रेडक्रसले सचेत गराएको हो ।

बिरामी पर्नु, दुर्घटना हुनु तथा अन्य आकस्मिक स्वास्थ्य समस्या जुनसुकै बेला आउन सक्ने भएकाले आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको सहज उपलब्धता सुनिश्चित गर्न सबैको सहयोग आवश्यक रहेको रेडक्रसको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति राम चन्द्र उपाध्यायले समाजसेवी, मानवीय सेवामा समर्पित अगुवा तथा सम्पूर्ण सचेत नागरिकलाई आफ्नो नजिकैको रक्त सञ्चार सेवा केन्द्र वा इकाई मा पुगेर स्व स्फूर्त रक्तदान गर्न तथा अरूलाई समेत रक्तदानका लागि प्रेरित गर्न विशेष अनुरोध गरेका छन् ।

रेडक्रसले चाडपर्वको समयमा आफन्त र परिवारसँग खुसी साटासाट गर्नुका साथै मानवीय सेवाको भावनाले रक्तदानलाई पनि प्राथमिकतामा राख्न आग्रह गरेको छ ।  ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित रेडक्रसले रक्तदानलाई सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाउन अपिल गरेको हो ।

रुपन्देहीमा रक्तदान गर्न चाहनेले रक्त सञ्चार सेवा केन्द्र, बुटवल तथा रक्त सञ्चार सेवा इकाई, भैरहवा (UCMS) मा सम्पर्क गर्न सक्नेछन् ।

रक्त सञ्चार सेवा केन्द्र, बुटवल
सम्पर्क : ९८५७०४१००४, ९८४७०२८६३३

रक्त सञ्चार सेवा इकाई, भैरहवा (UCMS)
सम्पर्क : ९८६७३२६४५७, ९८४७०३९३७३

चाडपर्वको व्यस्तताबिच गरिएको केही समयको रक्तदानले आकस्मिक अवस्थामा कसैको जीवन जोगाउन महत्त्वपूर्ण योगदान पुग्ने भएकाले रेडक्रसले सबैलाई मानवीय सेवामा सहभागी हुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?