© 2026
भोटेकोसी बाढीले सयौँ पुल, दर्जनौँ सडक, कैयौँ खानेपानी आयोजना बगाएको छ । प्रभावित स्थानसम्म जान सक्ने अवस्था छैन ।
हजारौँ घर बगेकोले प्रभावित क्षेत्रमा सन्नाटा छ । यसै सन्दर्भमा नेपालीका दुई ठुला चाड दसैँ र तिहार घर आँगनमा आइसकेको छ । यद्यपि त्यसको कुनै रौनक छैन । तर पनि सडक पूर्वाधार निर्माणमा सरकारको विशेष चासो पुग्नुपर्दछ ।
राहत र उद्धारपछि सरकारको ध्यान पूर्वाधारमा पुगोस् । दसैँ र तिहारको रौनक नभए पनि सडक सवैका लागि आवश्यक छ । चाडपर्व नमाने पनि हुन्छ तर सडक त अत्यावश्यक छ । तसर्थ सबैभन्दा पहिले सरकारले सडक पुनर्निर्माणमा ध्यान दिनु जरुरी छ ।
यो वर्ष तराईमा भन्दा पहाडी जिल्लामा यो वर्ष धेरै पानी परेको छ । जसका कारण अधिकांश प्रभावित क्षेत्रका पहाडी सडक अवरुद्ध बनेका छन् । पहाडी सडक अवरुद्ध बन्दा यातायात सेवा प्रभावित हुनुका साथै हिँडडुल गर्न समेत समस्या उत्पन्न भएको छ । अहिले बाढीग्रस्त गाउँमा कोही बिरामी परेको अवस्थामा एम्बुलेन्स समेत जान सक्ने अवस्था छैन ।
गाउँ गाउँका कुनाकाप्चासम्म मोटर पु¥याउने नाममा भएको डोजर विकासको संस्कृतिले विनाश निम्त्याएको छ । सडक खन्दा पहिरोले गाउँ नै विस्थापित भएको अवस्था छ । पहाडका गाउँघरमा कोही बिरामी परे बोकेर मूल सडक वा सहर पु¥याउनु पर्ने अवस्था छ । विकासका नाममा अव्यवस्थित रूपमा चिरिएका पहाडमा बर्सेनि हुने पहिरोको भयलाई ख्याल ख्याल सम्झिँदा जनताले पीडा खेप्नुपरेको छ ।
भौतिक विकासका नाममा पहुँचका भरमा बजेट खन्याएर भोट तान्न जथाभाबी चलाइने डोजर र त्यसले जन्माएका प्राकृतिक विपत्तिबाट आज विकास हाम्रा लागि विनाशको कारण बनिरहेको छ । वास्तवमा बर्खायाममा जनताले भोग्ने बर्सेनिका प्रताडनाचाहिँ राजनीतिक जुहारीजस्तो प्राथमिकतामा पर्दैन ।
चुरे क्षेत्रका नदीमा हुने दोहन र खोलाले फेरेको मार्गका कारण नेपालका तराई क्षेत्रमा ४० जिल्लामा डुबानको जोखिम रहेको एक अध्ययनले देखाएको छ । बर्खामा भेलले तराईलाई डुबाउने अनि हिउँदमा पानी नभएर काकाकुल हुनुपर्ने व्यथा छ । खोलाको कमसल बाँधलाई पानीको वेगले भत्काउँछ । वर्षायामका हरेक साल असार, साउन र भदौका तीन महिना तराई क्षेत्रमा मात्रै नभएर पहाडी इलाकामा पनि उत्तिकै भय छ । पानी पर्नेक्रम विस्तारै कम हुँदै गएको छ ।
पानी परेपनि कहिँ आरीघोप्टे वर्षा हुन्छ भने कहिँ पानी नै नपर्ने समस्या बढिरहेको छ । क्षणिक बर्षाको चुनौती बढेको छ । तराईमा कम पानी पर्दा पहाडी जिल्लामा अहिले पनि निरन्तर वर्षा भइरहेको छ । वर्षा भइरहँदा बाढी प्रभावित रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा लगायतका पहाडी बस्तीका अधिकांश स्थानमा गुड्ने सवारीका साधन बन्द भएका छन् ।
त्यसमाथि डोजरले खनेको बाटोमा पहिरो, भूक्षयको जोखिम बढ्दै गएको छ । डोजरले खनेको सडक बढी जोखिममा रहेको देखिएको छ । एक अध्ययनका अनुसार कमजोर पहाडमा डोजरले खनेको सडक ८० प्रतिशत जोखिम रहेको देखिएको छ । ती सडकमा हिउँदमा समेत मुस्किलले यातायात सञ्चालन हुने गर्दछ ।
हतारमा गरिएको कामले विनाश निम्त्याउने काम भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी गरिएका विकास योजनाले क्षणिक विकासमात्रै होइन, विनासपनि निम्त्याउने गर्छ भन्ने कुरा बल्ल देखिएको छ । जनप्रतिनिधिहरूले समेत विगतका गरिएको विकास निर्माणका कामको परिणाम र नतिजा हेरेर मात्रै नयाँ योजनाको खाका कोर्नु श्रेयष्कर हुन्छ ।
नेपालीको घर आँगनमा चाडपर्व आईसकेका छन तर भोटेकासी बाढीको पीडाले यो बर्षका चाडपर्व खल्लो सावित हुँदैछन् । अब ढिला नगरी सरकारले सडक पुर्निर्माणको काम बाढी प्रभावित क्षेत्रसम्मै सुरु गरोस् । बाढीग्रस्त क्षेत्रसम्म पुग्ने सबैभन्दा पहिलो माध्यम नै सडक हो । अतः अहिले बर्षाको समय भएकोले पनि सरकारको ध्यान त्यता जाओस् ।