Butwal Today

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, धेरै घाइते

२० भाद्र २०८३, शनिबार
अ+
अ-

वियाचा ।

बोलिभियाको सैन्य परिसरमा भएका दुई वटा छुट्टाछुट्टै विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै ८१ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

बोलिभियाका रक्षामन्त्री अर्नेस्टो जस्टिनियानोले बोलिभियाको राजधानी ला पाजको ३० किलो मिटर दक्षिणपश्चिममा रहेको वियाचा स्थित सैन्य परिसरमा विस्पोट भएको बताएका छन् । उनका अनुसार उक्त क्षेत्रमा पाइरोटेक्निक सामग्री भण्डार गरिएको थियो ।

विज्ञप्तिमा शुक्रबार दिउँसो लगभग २ः३० बजे भएको विस्फोटको कारण बारे अनुसन्धान भईरहेको उल्लेख गरिएको छ ।

स्थानीय मिडियाद्वारा प्रसारित फुटेजमा विस्पोट पछि सहरको केन्द्रबाट कालो धुवाँको बाक्लो मुस्लो आकाशतिर उढेको देखाइएको छ ।

फुटेजमा विष्फोटले प्रभावित क्षेत्रका घरहरू क्षतिग्रस्त भएको टुटेको झ्याल, भाँचिएको छत र छरिएको भग्नावशेष देखाइएको थियो ।

जस्टिनियानोले दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको पुष्टि भएको बताएका छन् । “गम्भीर अवस्थामा“ रहेका दुई जनासहित घाइतेहरूलाई उपचारका लागि मेडिकल सेन्टरमा लगिएको उनले बताए ।

मृतक तथा बेपत्ताहुनेहरुमा उक्त सैन्य परिसरमा कार्यरत सैनिकहरू रहेको रक्षा मन्त्रालयले जनाएको छ । प्रहरीको प्रारम्भिक प्रतिवेदनले कम्तिमा ५२ जना सर्वसाधारणसहित ५९ जना घाइते भएको बताएको थियो ।

विस्फोटपछि अग्नि नियन्त्रकहरू सैन्य परिसरमा पुगेर प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित आश्रयमा सारेको जनाइएको छ । त्यस क्षेत्रमा सुरक्षाको कारण बिजुली आपूर्ति काटेर उद्धारका लागि दर्जनौँ प्रहरी अधिकारीहरू तैनाथ गरिएको एएफपीले जनाएको छ ।

राष्ट्रपति रोड्रिगो पाजले मृतकको परिवार, घाइते र विस्फोटबाट प्रभावितहरु प्रति सहानुभुति व्यक्त गर्दै घटनाको पूर्ण, प्राविधिक र पारदर्शी अनुसन्धानको लागि निर्देशन दिएको बताएका छन् । “हामीले यस घटनाको कारणहरू पूर्ण स्पष्टताका साथ स्थापित गर्नुपर्दछ, सुरक्षा प्रोटोकलको अनुपालन प्रमाणित गर्नुपर्दछ र उत्पन्न हुन सक्ने कुनै पनि जिम्मेवारीहरू निर्धारण गर्नुपर्दछ,” उनले समाजिक सञ्जाल एक्समा भने ।

वियाचाका अधिकारीहरूले तीन दिनको शोक घोषणा गरेका छन् । लगातार दुईवटा विस्फोट भएको जस्टिनियानोले पुष्टि गरेका छन् ।

पहिलो विस्फोटमा भण्डार गरिएको पाइरोटेक्निक सामग्री समावेश भएको विश्वास गरिएको उल्लेख गर्दै उनले दोस्रो विस्फोटको कारण र सामग्री अझै निर्धारण भइ नसकेको बताएका छन् ।

रक्षा मन्त्रालयले विस्पोटमा कुनै सैन्य हतियारहरु विस्फोट नभएको बताएको छ ।

यो समयमा प्राथमिकताको विषय मानिसहरू भएकाले घाइतेहरूको हेरचाह गर्ने, उनीहरूको परिवारलाई सहयोग गर्ने, र खोजी र प्रमाणिकरण प्रयासहरू जारी राख्ने जस्टिनियानोले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?