© २०२३
काठमाडौँ, २२ माघ ।
सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई) मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जितेका हुन् । उनले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काटेका थिए ।
उनले भने, “चिट्ठाको विजेता घोषणा गर्दा म अफिसमै लाइभ हेर्दै थिएँ । ग्राहक आएपछि काममा लागेँ । काम सकिएपछि फेरि भिडियो हेर्दा थाहा भयो, २३ मिलियन दिरामको पुरस्कार मैले जितेछु ।”
मध्यमवर्गीय परिवारका पालले यो पुरस्कार जित्दा खुसी भएको बताउँदै अहिले गर्दै आएको कामलाई निरन्तरता दिने प्रस्ट्याए । उनले भने, “म कतार आएको सात वर्ष भयो । पहिले हिमाल रेमिटको प्रतिनिधिको जिम्मेवारीमा थिएँ । केही समययता म इस्टर्न मनी एक्सचेन्ज सनैयामा कार्यरत छु । काम छोड्ने कुनै योजना छैन ।”
लामो प्रयासपछि पुरस्कार
विजेता पालको समूहमा २० जना साथी छन् । त्यसमा चार जना नेपाली र अरू विदेशी हुन् । उनीहरूले एक वर्षयता चिठ्ठा भर्दै आएका थिए । पालले यस पटक आफ्नो नामका काट्दा भाग्यचिठ्ठा परेको बताए ।
यूएईमा कार्यरत पत्रकार उमाकान्त पाण्डेका अनुसार आबुधाबी विमानस्थलस्थित ‘ड्युटी फ्री’अन्तर्गतको बिग टिकटले खुलाउने चिठ्ठाको एउटा टिकट काट्दा पाँच सय दिराम पर्छ, जुन झन्डै १८ हजार रुपियाँ हो ।
उनले भने, “सबैको पहुँचले भ्याउँदैन । पालजीले पनि २० जना साथीसँग मिलेर चिठ्ठा भर्दै आएका रहेछन् । कतिपयको पैसा जान्छ पनि, उनका लागि सुखद संयोग भयो, उनले पुरस्कार जिते ।”
‘पैसा बाँड्छौँ’
चिठ्ठा विजेता पालले जितेको रकम सबैलाई बराबर बाँड्ने बताए । उनले सबै साथी सामान्य परिवारकै रहेको बताए । उनले भने, “म भुइँमान्छे हुँ । मेरो नामको टिकट काट्दा चिठ्ठा प–यो । टिकट काटेका सबै साथीलाई सुनाइसकेँ । हामी सबै खुसी छौँ ।” उनले जितेको पैसा कानुनबमोजिमै नेपाल पठाउने बताए । उनले भने, “बिग टिकटबाट फोन आयो । कागजपत्र सबै बुझाएको छु । रकम पाएपछि बाँड्छौँ ।”