Butwal Today

प्रदेशका फुर्सदिला मन्त्री, मोटरसाइकल सोरुम उद्घाटन गर्न कपिलवस्तु

१८ भाद्र २०८३, बिहीबार
अ+
अ-

बुटवल ।

लुम्बिनी प्रदेशका मन्त्रीहरू फुर्सदिलो मन्त्रीका रूपमा आलोचित बन्दै गएका छन् । भोटेकोशी बाढीका कारण देश नै शोकमा रहेका बेला प्रदेशका मन्त्री मोटरसाइकलको सो रुम उद्घाटन गर्न कपिलवस्तु पुगेको भन्दै मन्त्री अहिर आलोचित बनेका हुन ।

कपिलवस्तुको चार जना युवा उद्यमीले सुरु गरेको नेपाल श्री ट्रेडर्सको होन्डा मोटरसाइकल शोरुम र कपिलवस्तु कङ्क्रिट ब्लक उद्योग उद्घाटनका लागी लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिर कपिलवस्तु पुगेका हुन ।

कपिलवस्तु नगरपालिका–१ नयाटोलमा नेपाल श्री ट्रेडर्सको होन्डा मोटरसाइकल शोरुम र वडा नं। ६ गौबरीमा कपिलवस्तु कङ्क्रिट ब्लक उद्योगको मन्त्री अहिरले रिबन काटेर उद्घाटन गरे । उनले स्थानीयस्तरमा उद्योग तथा व्यवसाय सञ्चालन हुनु सकारात्मक भएको बताए । यस अघि मन्त्री अहिर तौलिहवाको चपरतल्लामा रहेको यातायात कार्यालयमा पुगेका थिए ।

कार्यालयमा स्थानीय जनप्रतिनिधिले मन्त्री अहिरलाई कपिलवस्तुका यातायात सम्बन्धी स्थानीय समस्याबारे जानकारी गराउँदै ट्रायल सहितको लाईसन्स सेवा सुरुवात गरि दिन माग राखेका थिए । उनले कार्यालयको ट्रायल परीक्षा सञ्चालन गर्नुका साथै नयाँ सवारी चालक अनुमति पत्र वितरण सम्बन्धी सम्पूर्ण सेवा छिटो भन्दा छिटो उपलब्ध गराउन पहल गर्ने मन्त्री अहिरले प्रतिबद्धता जनाए ।

मन्त्रीहरू सहभागी भएर गरिएका साना तिना कार्यक्रम र उद्घाटनले प्रदेश सरकारकै आलोचना हुन सक्ने एक सुरक्षा निकायका अधिकारीले बताए ।
मन्त्रीले उद्घाटन गरेको शोरुममा होन्डा मोटरसाइकलको आधिकारिक विक्रेताका रूपमा सञ्चालनमा आएको नेपाल श्री ट्रेडर्सबाट होन्डाका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर बिक्रीसँगै स्पेयर पाट्र्स र सर्भिसिङ सेवा उपलब्ध गराइने सञ्चालकले बताए ।

नेपाल श्री ट्रेडर्समा अनुपकुमार पाण्डे, देवेश जैसवाल, रत्नाकर शुक्ला र इश्तेखार अहमद खान गरी चार जना युवा व्यवसायीहरू साझेदार रहेका छन् ।

होन्डाका लुम्बिनी रिजनल म्यानेजर राजाराम खन्ना सहितको उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी तथा सरोकारवालाको सहभागिता रहेको थियो । सो सँगै कपिलवस्तु नगरपालिका–६ गौबरीमा सञ्चालनमा आएको कपिलवस्तु कङ्क्रिट ब्लक उद्योगले विभिन्न प्रकारका कङ्क्रिटजन्य निर्माण सामग्री उत्पादन गर्ने जनाएको छ । उद्योगबाट इन्टर लक इँटा, मिलेट इँटा, जिगज्याग इँटा, युनिटी पेभर इँटालगायतका निर्माण सामग्री उत्पादन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?