Butwal Today

प्रधानमन्त्रीले कुलमानसँग सोधे- सुरुङभित्र फसेकाको उद्धार कसरी गर्ने ?

१८ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

प्रधानमन्त्री बालेन शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा बिहीबार भएको भेटमा बाढी तथा विपद् प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या र सरकारले गर्नुपर्ने कामबारे छलफल भएको हो ।

भेटपछि घिसिङले विपद् प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणका क्रममा देखिएका, बुझेका र तत्काल गर्नुपर्ने कामबारे सरकारलाई सुझाव दिन प्रधानमन्त्रीसँग भेटवार्ता गरिएको बताए ।

‘विपद्को अवस्थामा हामीले फिल्डमा भिजिट गरेर धेरै ठाउँमा देखेका, बुझेका र गर्नुपर्ने विषयमा उहाँहरूलाई दिने सुझावका लागि भेटघाट गरेका हौं,’ उनले प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा भने ।

घिसिङ नेतृत्वको टोलीले उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले गर्नुपर्ने कामबारे प्रधानमन्त्रीलाई लिखित तथा मौखिक सुझाव दिएको छ ।

‘हामीले लिखित र मौखिक सुझाव दिएका छौं । अहिलेको विपद्को अवस्थामा विशेष गरेर रेस्क्यु, रिलिफ र रिसेटलमेन्टका विषयमा समग्र रूपमा सरकारलाई सुझाव दिने काम भएको छ,’ उनले भने ।

भेटमा प्रधानमन्त्री बालेनले जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारबारे समेत जिज्ञासा राखेको घिसिङले जानकारी दिए ।

‘मुख्य गरेर सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने भन्नेबारे उहाँहरूको जिज्ञासा थियो । त्यससम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौं,’ उनले भने ।

घिसिङ नेतृत्वको टोलीले सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि गर्नुपर्ने कामबारे जानकारी गराएपछि प्रधानमन्त्री बालेनले जुनसुकै अवस्थामा पनि उद्धार कार्यलाई अघि बढाउने प्रतिबद्धता जनाएको घिसिङले बताए ।

‘उहाँले पनि यो विषयमा हामी सकेको जुनसुकै काम गर्नुपरे पनि गर्छौं । जुनसुकै अवस्थामा पनि जस्तोसुकै परिचालन गर्नुपरे पनि परिचालन गरेर अगाडि बढ्ने भन्नुभएको छ,’ घिसिङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?