© 2026
बर्दघाट ।
मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । जारी शृङ्खलामा नेपालको यो दोस्रो जित हो । मलेसियाले राखेको १ सय ४ रनको सामान्य लक्ष्य नेपालले २१ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो ।
नेपालको जितमा ओपनर ब्याटर अर्जुन कुमालले अविजित ४५ रनको पारी खेले । इशान पाण्डेले २० रनको योगदान गरे भने दीपेन्द्र सिंह ऐरीले अविजित १२ रन बनाए । आशिफ शेख सुन्यमै आउट हुँदा देव खनालले पनि मात्र २ रनको योगदान गर्दै पवेलियन फकेका थिए । रोहित पौडेलले १० रन टिमको लागि जोडे ।
मलेसियाका शैयद अजिज, आरिफ उल्लाह, विरेनदिप सिंह र प्रशान्त मधुरकरले समान १–१ विकेट लिए । यसअघि टस जिति पहिले ब्याटिङ्ग रोजेको मलेसियाले नेपाललाई १ सय ४ रनको सामान्य लक्ष्य राखेको थियो । मलेसिया ३२ दशमलव ३ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ३ रनमा समेटियो ।
मलेसियालाई सस्तैमा धराशायी बनाउन नेपालका करन के।शी।ले उत्कृष्ट बलिङ गर्दै ४ खेलाडीलाई पवेलियनको बाटो देखाए । उनले उनले ७ दशमलव ३ ओभरमा २ मेडन सहित २३ रन खर्चेर ४ विकेट लिए । यस्तै ललित राजवंशीले २, हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
मलेसियाको लागि कप्तान शैयद अजिजले सर्वाधिक ३० रनको पारी खेले । अकिल वहिदले २४, भिरनदिप सिँहले १४ र मोहम्मद सहातले १३ रन बाहेक अन्यले दोहोरो अङ्क समेत जोड्न सकेनन् ।
जितसँगै नेपाल ४ अङ्क सहित समूहको शीर्षस्थानमा रहेको छ । नेपालले खेलेका २ खेलमध्ये दुवै खेलमा जित हासिल गर्दै अपराजित यात्रा कायम राखेको हो । पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो । तेस्रो खेल नेपालले आइतबार साउदी अरेबियासँग खेल्ने छ ।