© 2026
नवलपरासी ।
नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नेपाल–भारत सीमा छुट्याउने सिमलको रुख बगाएको छ ।
सुस्ता गाउँलाई बाढीबाट जोगाउन नारायणी नदीमा सरकारले १ सय ३२ मिटर तटबन्ध निर्माण थाले पनि भारतीय एसएसबीले अवरोध गरेका कारण दुई महिनादेखि काम रोकिएको स्थानीयले बताएका छन् । तटबन्ध निर्माण रोकिएकै क्षेत्रबाट बाढी गाउँमा पसेको उनीहरूको भनाइ छ ।
सुस्ता–५ का वडा सदस्यसमेत रहेका सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खानले बुधबार राति आएको बाढीले सीमा स्तम्भका रूपमा मानिँदै आएको सिमलको रुख बगाएको जानकारी दिए ।
नारायणी नदीपारि थारू टोलमा रहेको उक्त रुखलाई नेपाल र भारतका जिल्लास्तरका सुरक्षा प्रमुख तथा स्थानीयको सहभागितामा १८ वर्षअघि, २०६५ सालमा सीमा स्तम्भका रूपमा मान्ने सहमति भएको थियो ।
बाढीले सिमलको रुख बगाएपछि सुस्तावासीले तत्काल स्थायी सीमा स्तम्भ राख्नुपर्ने माग गरेका छन् ।
सुस्तामा स्थायी सीमा स्तम्भ नहुँदा भारतीय पक्षले पटक–पटक विवाद गर्दै आएको भन्दै सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले संघीय सरकारसँग तत्काल स्थायी सीमा स्तम्भ राख्न माग गरेका छन् ।
‘स्थायी सीमा स्तम्भ नभएकै कारण भारतीय पक्षले पटक–पटक नेपाली भूमि अतिक्रमण गर्ने र विवाद निम्त्याउने गरेको छ,’ अध्यक्ष उपाध्यायले भने ।
दुई दिनअघि आएको बाढीका कारण सुस्ताको थारू टोलमा समेत पानी पसेको थियो । बाढीले करिब २० बिघा क्षेत्रफलमा लगाइएको उखु खेतीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
सीमा विवाद रहेको सुस्ता–५ मा २ सय २० घरधुरीका १ हजार ४ सय ५७ जनाको बसोबास रहेको छ ।
प्रधानमन्त्री बालेन शाहले संसद्को रोष्ट्रमबाट नेपालले भारतको सीमा विभिन्न ठाउँमा मिचेको अभिव्यक्ति दिएपछि सुस्ताको सीमा विवादमा भारतीय पक्षलाई बल पुगेको अध्यक्ष उपाध्यायले बताए ।