Butwal Today

एमाले–नेकपा सांसदले १५ दिनको तलब बाढी प्रभावितलाई दिने

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सङ्घीय सांसदहरूले १५ दिनको तलब भोटेकोशी बाढी प्रभावित क्षेत्रका पीडितलाई राहतस्वरूप दिने निर्णय गरेका छन् ।

सङ्घीय संसद्का सांसद तथा उनीहरूका स्वकीय सचिवालयका कर्मचारीको १५ दिनको तलब कटाएर प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

सङ्घीय सांसदबाहेक सातै प्रदेशका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिबाट समेत रकम सङ्कलन गरी एकमुष्ट रूपमा राहत कोषमा जम्मा गरिने उनले बताए ।

‘बाढी प्रभावित क्षेत्रका जनतालाई राहत दिनका लागि सङ्घीय सांसद र स्वकीयबाट १५ दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ । यसबाहेक सातै प्रदेश र स्थानीय जनप्रतिनिधिबाट एकमुष्ट राहत जम्मा गर्छौँ’, दुलालले भने ।

नेकपाका सङ्घीय संसद्का दुवै सदनमा गरी कुल ३४ जना सांसद छन् । यसअघि पनि पार्टीले बाढी प्रभावित क्षेत्रका जनतालाई राहत उपलब्ध गराउन २५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको थियो ।

यसैबीच, नेकपा एमालेका सांसदहरूले पनि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?